धरान : धरानमा शारीरिक रूपमा अशक्त व्यक्तिलाई ह्विलचियर सहित आवश्यक सामग्री वितरण गरिएको छ ।

धरान उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार शारिरिकरुपमा अशक्त भएका व्यक्तिहरूलाई ह्विलचियर, वैशाखी, ट्वाइलेट चियर, एल स्टीक, इयरिङ एड वितरण गरेको हो । उक्त सामग्री धरान उपमहानगरपालिकाको सभा हलमा मेयर तिलक राईले आज वितरण गरेका थिए ।

मेयर राईले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत प्रदेश सरकार, धरान उपमहानगरपालिका र करुणा फाउण्डेसनको संयुक्त साझेदारीमा सञ्चालनमा ल्याइएको बताए । मेयर राईका अनुसार धरान भरि रहेका शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई, उनीहरूकै माग अनुसार भौतिक सामग्री वितरण गरिएको हो ।

मेयर राईले भने-‘यदि तपाईँको छिमेकमा तपाईकै आफन्त, तपाई जस्तो कोही छुटेको छ भने पनि उहाँहरूलाई पनि सम्पर्कमा ल्याउन आग्रह गर्छु । यो कार्यक्रम तपाईँहरूकै लागि ल्याएको हो । यो तपाईँहरूको अधिकार हो । अधिकार पाउनबाट कोही पनि वञ्चित नहुनुहोस् ।’

अपाङ्ग भएर बिरामी भएकालाई उपचारका लागि वडा वडामै सामाजिक विकास महाशाखासँग समन्वय गरेर सहजकर्ता तथा प्राविधिक डाक्टरहरूलाई खटाइने मेयर राईले बताए । ‘ह्विलचियरको साइजहरू मिलेन भने त्यसलाई फेरी साइज मिलाएर व्यवस्थापन गरिदिने छौँ,’ मेयर राईले भने ।

शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरूका लागि थुप्रै कार्यक्रमहरू गर्न बाँकी रहेको मेयर राईले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण भने जति कार्यक्रम खुलेर गर्न नसकेको मेयर राईको भनाई थियो । धरानमा संक्रमणदर तीव्र रूपमा बढिरहेको छ ।

दुई, चार दिनपछि फेरी पनि लकडाउन गर्नुपर्ने स्थिति बन्दै गएको मेयर राईले बताए । ‘शारीरिक अपाङ्गता भएकाको लागि खोप पनि आउँदै छ । हामी सूचना जारी गर्छौ । खोप लगाउन कोही पनि नछुट्नु होला । खोप लगाउने केन्द्र तोकेर हामी तपाईँहरूलाई खबर गर्छौ ।

खोप लगाउन अत्यन्तै जरुरी छ । कोरोनाबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खोपप्रति विश्वास गर्न पनि अनुरोध गर्छु,’ मेयर राईले भने ।

उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञादेवी निरौलाले ५६ जनालाई ह्विलचियर, ५ जनालाई ट्वाइलेट चियर, ५६ जनालाई एल स्टीक, र ५ जनालाई इयरिङ एड आज वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार केही अशक्त व्यक्तिहरू छुटेका छन् । उनीहरूलाई आगामी कार्यक्रममा वितरण गरिने उनले बताइन् । प्रदेश सरकार, धरान उपमहानगरपालिका र करुणा फाउण्डेसनको संयुक्त साझेदारीमा सञ्चालनमा ल्याएको यसको सम्झौता ३ वर्षको रहेको छ ।

वार्षिक रूपमा ७२ लाख रुपैयाँ बजेट छुटाएर यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । एक वर्ष सकिएको उनले जानकारी दिइन् । गत चैत २१ गतेदेखि वैशाख २० गतेसम्म धरानका १२ स्थानमा केन्द्र तोकेर अशक्त व्यक्तिहरूको स्वास्थ्य शिविर गरिएको थियो ।

गत वर्षको असारबाट यो कार्यक्रम सुचारु हुनुपर्ने हो । तर कोरोनाका कारण गत पुसदेखि सञ्चालनमा ल्याइएको थियो । सामाजिक विकास महाशाखाका अनुसार धरानमा लगभग ११ सयदेखि १२ सयको हाराहारीमा असक्त व्यक्तिहरू रहेका छन् ।

उनीहरूलाई ४ वर्गमा विभाजन गरेर कार्ड वितरण गरिएको छ । केही दिनअघिमात्र उनीहरूलाई क वर्ग रातो, ख वर्ग निलो, ग वर्ग पहेँलो र घ वर्ग सेतो कार्ड वितरण गरिएको जनाएको छ । अझै खोजी गर्नका लागि सामाजिक विकास महाशाखाले १० जना सहजकर्ता खटाइएको जनाएको छ ।