धरान : धरान उपमहानगरपालिकाले कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने तयारी गरेको छ ।

अव्यवस्थित तरिकाले सञ्चालन भएको गुनासो चौतर्फी रूपमा आएका कारण आगामी दिनदेखि उपमहानगरपालिकाले व्यवस्थित ढङ्गबाट खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मेयर तिलक राईको कार्यकक्षमा बिहीबार मेयर राईको अध्यक्षमा समीक्षात्मक बैठक बसेको थियो ।

उक्त बैठकले यस्तो निर्णय गरेको हो । नेपाल सरकारबाट कोरोना विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । धरानमा चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाउने अभियान बुधवार सम्पन्न भएको छ । धरानमा ११ हजार बढी नागरिकहरूले उक्त खोपको पहिलो मात्रा लगाएका छन् ।

उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेश खतिवडाका अनुसार यो भन्दा अगाडी खोप केन्द्रहरूमा स्वास्थ्य महाशाखाले मात्र समन्वय गरेर खोपहरू लगाइएको थियो । खोप केन्द्रहरूमा स्वयं सेवकहरू पनि परिचालन गरिएको थियो ।

त्यसले गर्दा भने जति व्यवस्थित हुन नसकेका कारण अबदेखि स्वास्थ्य महाशाखाले खोप लगाउने तर्फको व्यवस्थापन गर्ने अधिकृत खतिवडाले बताए । ‘खोप केन्द्रमा कर्मचारीको व्यवस्थापन गर्ने, कति कर्मचारीहरू आवश्यक पर्छन् ? अनुगमनको व्यवस्थापन गर्ने र समन्वयको व्यवस्थापन गर्ने कामहरू प्रशासनिक भएकाले प्रशासनले गर्ने निर्णय भए अनुरूप हामी त्यो तयारीमा जुटिरहेका छौँ,’ उनले भने ।

धरान उपमहानगरपालिकाले यो भन्दा अगाडी पनि धेरै पटक खोपहरू लगाई सकेको बताउँदै अधिकृत खतिवडाले भने, ‘त्यसमा चाहिँ व्यवस्थित भएन, लक्षित वर्गहरूले पाएनन्, जो लक्षित वर्ग हो उनीहरू छुटे, अरूले लगाए, अव्यवस्थित भयो भनेर गुनासो आयो र समाचारहरू पनि आयो, सामाजिक सञ्जालमा पनि आलोचनात्मक टीकाटिप्पणीहरू आए ।

जसले गर्दा उपमहानगरपालिकाले आगामी दिनमा जति पनि खोपहरू लगाइन्छ । त्यो खोपलाई अलिक बढी व्यवस्थित बनाएर जाने तयारी गरेको छ ।’

धरानमा अब हप्ता दिनभित्रमा अर्को समूहलाई लक्षित गरेर अमेरिकन जोनसन एण्ड जोनसन खोप आउँदैछ । उक्त खोप लगाउन अहिले तोकिएकै सात वटा खोप केन्द्रहरूमा उपमहानगरपालिकाले नै आवश्यक कर्मचारी छनौट गरेर राख्ने भएको छ ।

अधिकृत खतिवडाले भने, ‘खोप लगाउन अहिले तोकिएकै सात वटै खोप केन्द्रहरूमा कति कर्मचारीहरू आवश्यक पर्छ ? यसको लागि उपमहानगरपालिकाको प्रशासन शाखाले पूर्व तयारी गरिरहेको छ । खोप केन्द्रमा कस्ले लेख्ने ? कसको जिम्मेवारी के हो ? भनेर अगाडी नै हामी तोक्दै छौँ खतिवडाले भने ।’

साउन १२ देखि १३ गतेसम्म भेरोसेल खोप ५५ वर्ष माथिका उमेर समूहलाई लक्षित गरेर लगाइएको थियो । उक्त समय अवधिमा ५५ वर्ष माथिकालाई लगाई सक्नुपर्ने थियो । कतिपय छुटेका छन् । छुटेकाको पनि तथ्याङ्क वार्डहरूमा माग्ने तयारी गरिरहेको उपमहानगरपालिकाले जनाएको छ ।

अब ५० देखि ५४ वर्ष उमेर समूहलाई लक्षित गरेर खोप लगाइने भएकोले यो समूहका मानिसहरूको तथ्याङ्क प्रत्येक वडाहरूमा सङ्कलन गरिने तयारी भइरहेको छ । २० वटै वडाबाट सङ्कलन गरेर ल्याएको तथ्याङ्कको आधारमा खोप लगाइने भएको छ ।

आउँदो खोपलाई उपमहानगरपालिकाले अझ बढी व्यवस्थित तरिकाले सञ्चालन गरेर खोप लगाइने बताएको छ । बिहीबार देखि लगाइने भनिएको जोनसन एण्ड जोनसन खोप स्वास्थ्य कार्यालय सुनसरीमा आई नपुगेको कारण स्थगित भएको हो । स्वास्थ्य कार्यालय सुनसरीमा उक्त खोप आइपुगेपछि मात्र धरानमा खोप उपलब्ध हुने उपमहानगरपालिकाले जनाएको छ ।