धरान : प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज धरान-१० ले खेल सप्ताहको शुभारम्भ गरेको छ। महाशिवरात्रि पर्वको अवसरमा पाँच किलो मिटर दौड आयोजना गर्दै 'प्राइम भिजन स्पोर्ट्स विक' को समुद्घाटन गरेको हो ।
समुद्घाटनमा आयोजित 'पीभीआइएचएम फाइभ के रन' मा कक्षा १२ का वाणिज्य सङ्कायका विद्यार्थी रोशन लावती विजयी भएका छन् । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए । उपविजेता एडिएचएमका विद्यार्थी रोनिश श्रेष्ठले २२ मिनेट २८ सेकेन्डमा दौड पूरा गरे । तेस्रो स्थानमा प्रकाश दुमी राई आए । 
छात्रातर्फ कक्षा १२ वाणिज्य सङ्कायकि हेन्खाम राई विजयी बनिन् । उनले ३७ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरिन् । उपविजेता निकिता श्रेष्ठ बनिन् । तेस्रो स्थानमा विनीता राई आइन् । 
दौडमा प्राइम भिजनका ४० जना विद्यार्थीले सहभागिता जनाएको खेल संयोजक सङ्गीत सिग्देलले जानकारी दिए । दौडको प्राविधिक सहयोग र मूल्याङ्कन धरानको प्रतिष्ठित दौड प्रतियोगिता धरान रनले गरेको थियो । धरान-१० कलेज रोडमा अवस्थित प्राइम भिजन इन्टरनेश्नल होटेल म्यानेजमेन्ट कलेजले दौडसँगै पहिलो दिन बुद्धिचाल प्रतियोगिता र क्यारेम प्रतिस्पर्धा गरेको छ। 
कोभिड सङ्क्रमणको लामो समय विद्यार्थीमा अतिरिक्त क्रियाकलाप नभइरहेको अवस्थामा खेल सप्ताहले विद्यार्थीमा उत्साह दिने कलेजका सिइओ अविशेक श्रेष्ठले बताए ।