झापा : मोरङको लेटाङ नगरपालिकामा एक बालिकाको शव गाडिएको अवस्थामा फेला परेको छ । 

लेटाङ-८ स्थित लालहिरा सामुदायिक वनभित्र गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए । 

प्रहरी निरीक्षक अर्यालले कपुरी न्युजकर्मीसँग भने, “लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वन भित्र गाडिएको र नाङ्गो अवस्थामा भेटिएको छ । शवलाई खाल्डोबाट बाहिर निकालेका छौँ, पोस्टमार्टमका लागि धरान पठाउने तयारी गरिरहेका छौँ ।”  

लेटाङ प्रहरीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा बुधवार दिउँसो ४ बजेतिर बालिका बेपत्ता भएकी थिइन् । बालिका जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेको बताइएको छ । बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए । प्रहरी सहित खोजी गर्ने क्रममा खाल्डो खनेर गाडिएको र माथिबाट ढुंगाले छोपेको अवस्थामा वनभित्र निर्वस्त्रअवस्थामा शव फेला परेको हो । 

यसैबिच, घटनामा संलग्न भएको आशङ्कामा एक वृद्ध सहित दुई जना पुरुषलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका पुरुष ६४ र ४७ वर्षका छन् । उनीहरूको नाम भने खुलाइएको छैन । उनीहरूको घर बालिका विद्यालय जाने बाटो र सामुदायिक वनको छेउमा रहेको प्रहरीले जानकारी दिएको छ । बालिकाको शरीरको विभिन्न भागमा चोट समेत देखिएको र उनको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

Balika-Hatteya-1