धरान : सधैँ झैँ बिहीबार बिहान सङ्खुवासभाको मादी नगरपालिका वडा नं.४ का २४ वर्षीय सुवास गोले बसमा चढेका यात्रुहरूको टिकट काट्न थाले ।

बिहान ६ः४५ बजे मादीको ओखरबोटेबाट बा४ख ७३५ नम्बरको रेसम फिलिलि नामक बस १९ यात्रु लिएर झापाको दमक तर्फ प्रस्थान गर्‍यो । बसका चालक थिए तेह्रथुम औशीडाँडाका विपिन निरौला। सधैँ झैँ आ-आफ्नो जिम्मेवारीमा तल्लीन ओखरबोटेका बुकिङ सुवास गोले यात्रुसँग टिकट काट्न व्यस्त थिए ।

एक्कासि बसको गति विग्रिएझै लाग्यो । सुवासले बसको पछिल्लो सिट तिर टिकट काट्दै गर्दा अगाडी आएर चालक विपिनलाई सोधे । 'के भयो' ? विपिन बोलेनन् । उनी निक्कै आत्तिएको देखिन्थे । दुर्घटना भएको स्थान भन्दा अढाई सय मिटर माथि देखि बसको स्पिड बढेको थियो । सुवास पछिल्लो भागमा यात्रुसँग टिकट काट्दै थिए ।

बस एक्कासि घुम्तीमा नमोडी भिरमा झर्‍यो । करिब अढाई सय मिटर तल झरेपछि बस रुखमा अडकीयो । चालकले सुवासलाई 'फाल हान फाल हान' भन्दै कराए । चालक विपिन र बुकिङ सुवास सँगै बसबाट फाल हाने । तर बस चालक विपिन फाल हाने पनि बाचेनन् । उनी फाल हानेकै तिर बस खस्यो । उनलाई बसले किच्यो र चालकको मृत्यु भयो ।

सुवास अहिले उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य उन्मुख भइरहेको छ। बस दुर्घटना हुनुको कारण बसको पत्ती भाँचिएकोले भएको हुन सक्ने उनको अनुमान छ । 

बस दुर्घटना भएको खबर पाएका सुवासका आफन्त बेनु तामाङ घटनास्थल आइपुग्दा बीभत्स अवस्था थियो । बस खसेको ठाउँ र बसको अवस्था हेर्दा बसमा सवार कोही पनि बाँचेनन् भन्ने लागेको थियो । बसको हुट थिएन । यत्रतत्र मृतकको शवहरू छरिएका थिए । एक दुई जना भित्तामा समाएर छटपटीरहेको बताउँदै बेनुले भने, बस झरेको ठाउँ सम्म पुग्न सडकबाट आधा घण्टा लागेको थियो । 

बस भिरमा खसेको अवस्था हेर्ने हो भने साँच्चै विभत्सा अवस्था थियो । बल्ल तल्ला जीवित रहेका घाइतेहरूलाई उद्धार गरिएको बताउँदै मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले भने -'पक्कै केही न केही टेक्निकल फल्टकै कारण दुर्घटना भएको हुनसक्छ।' मेयर लिङथेप पनि अहिले बीपीमै घाइतेहरूसँग रहेका छन् ।  

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मादी नगरपालिका-६ बस्ने वर्ष नखुलेकी अञ्जना कटवाल, सोही नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४५ को दीपक दाहाल, मादी-६ का वर्ष ३८ को इन्द्र बहादुर अधिकारी, मादी-४ बस्ने वर्ष ३५ को उमेश भट्टराई (सहचालक), मादी-४ बस्ने वर्ष ३८ को आइत बहादुर तामाङ, मादी-४ बस्ने वर्ष ३५ कि सबिता राउत कार्की, मादी-५ बस्ने वर्ष ५०/५२ को श्याम शेर्पा, मादी-५ बस्ने वर्ष ५५ को भवानी दाहाल, मादी-६ बस्ने तुलसा कटवालकी छोरी वर्ष ५ कि दीक्षा कटवाल, तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३०/३५ को विपिन निरौला र बीपीमा उपचारको क्रममा मादी नगरपालिका-५ की ३० वर्षीय यूका पोखरेलको मृत्यु भएको छ। सो दुर्घटनामा परेर ज्यान गुमाएका १ पुरुष, २ महिला, १ बालक गरी ४ जनाको सनाखत हुन सकेको छैन ।

अहिले ४ जना घाइतेको बीपीमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । मृतकहरुको शव चैनपुर अस्पतालमा राखिएको र उनीहरूको पोस्टमार्टम पछि मृतकका आफन्तलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुबेदीले बताए ।