धरान : स्थानीय तहको निर्वाचनका लागि सुनसरीमा ४ हजार ७६ जना सुरक्षाकर्मी परिचालन हुदैछन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार सुनसरी जिल्लाका १ सय ६६ मतदान स्थल मध्ये ४४ अतिसंवेदनशिल, ८० संवेदनशील र ४२ सामान्यको सुचीमा रहेको आधारमा सुरक्षा चुनौती रहेका मतदान स्थलमा अवस्था हेरेर सुरक्षाकर्मी परिचालन हुनेछन् । 

सुनसरी जिल्लाको निर्वाचनका लागि निर्वाचन लक्षित सुरक्षाका लागि स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ अनुसार सुरक्षाकर्मी परिचालन हुनेछन् । जसमा १ हजार १ सय ६६ जना नेपाल प्रहरी, ५ सय १२ जना सशस्त्र प्रहरी, ३ सय ३० जना नेपाली सेना र २ हजार ६८ जना म्यादी प्रहरी सुनसरीमा खटिनेछन् ।

सुरक्षाका चुनौतीसँगै व्यवस्थापकीय चुनौतीलाई आकलन गरेर भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्ला स्तरीय सुरक्षा एकीकृत गरी जोखिम र अतिसंवेदनशिल, संवेदनशील सुचीमा परेका मतदान स्थलहरूको अवस्था हेरेर संयुक्त सुरक्षाकर्मी परिचालन हुने प्रहरी प्रमुख थापाले बताए । 

एक पालिकामा २ मोबाइल टोली संयुक्त सुरक्षा फौज १४ जनाको टोली रहने छ भने सशस्त्र प्रहरीको थप सहयोगका लागि अर्को रिर्जव टोली पनि रहने बताइएको छ । मतदान स्थलमा कुनै घटना घट्न पुगे  सशस्त्र प्रहरीले कारबाही गर्ने छ ।