झापा : झापाको एक पालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच चुनावी गठबन्धन भएको छ। कचनकवल गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच चुनावी गठबन्धन बनेको छ ।
अध्यक्ष काँग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिने गरी गठबन्धन बनेको हो। अध्यक्षमा काँग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्ने भएका छन् । गाउँपालिकाका ७ वटा वडामा वडा अध्यक्ष र सदस्य मिलाउने प्रयास भइरहेको अध्यक्षका उम्मेदवार राजवंशीले जानकारी दिए । 
कचनकवलमा काँग्रेस र एमालेबीच चुनावी गठबन्धन बनेको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले पनि पुष्टि गरे । उनले वडा अध्यक्ष र सदस्यहरूको भागबन्डाको विषयमा छलफल चलिरहेको जानकारी दिए । कचनकवलमा राप्रपाको वर्चस्व तोड्न काँग्रेस र एमालेले गठबन्धन गरेका हुन् । राप्रपाका तर्फबाट बहालवाला अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी उठ्ने भएका छन् । 
दमकमा काँग्रेसले तोक्यो वडाध्यक्षका उम्मेदवार, गठबन्धनमा सहमतिको प्रयास भने जारी
यता, वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले झापाको दमकमा वडाध्यक्षका उम्मेदवारहरु चयन गरेको छ। 
नगर समितिका एक जना पदाधिकारीका अनुसार वडा नम्बर १ मा गजु देवान, वडा नम्बर २ मा उद्धव दाहाल, ३ मा डिल्ली चापागाईँ, ४ मा पुण्य दाहाल, ५ मा धनबहादुर भट्टराई, ६ मा मेनुका बुढाथोकी, ७ मा भुमिराज राई, ८ मा रवि केसी, ९ मा हरि सुवेदी र वडा नम्बर १० मा राजेन्द्र भण्डारीलाई चयन गरेको छ । 
दमकमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले एक्लै उम्मेदवार तय गरेको हो । काँग्रेसका वार्ता समितिका सदस्यका अनुसार सहमतिका लागि वार्ता जारी छ । उनका अनुसार सहमति नभएको खण्डमा काँग्रेसले एक्लै चुनावमा जानेछ । 
दमकमा राप्रपा, काँग्रेस बिच गठबन्धनको तयारी भए पनि सत्ता साझेदार माओवादीले प्रमुख मागेपछि गठबन्धनमा सङ्कट देखिएको हो । सत्ता साझेदार जसपा र नेकपा एकीकृत समाजवादी भने दमकमा गठबन्धनबाट बाहिर निस्केका छन् ।