धरान : धरान उपमहानगरपालिकामा आइतबार पहिलो दिन ६ दल र केही स्वतन्त्र गरी जम्मा ७२ जनाले उम्मेदवारी मनोनयन गरेका छन् । 

सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले दिएको जानकारी अनुसार मौलिक जरो किलो पार्टी, मङ्गोल नेश्नल अर्गनाईजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सचेत नेपाली पार्टी, किरात खम्बु साझा पार्टी गरी केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गरेका छन् । 

उम्मेदवारी मनोनयन गर्नेहरूमा ६ जनाले मेयरमा र ४ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन्। आज पहिलो दिन विभिन्न राजनीतिक दलका प्रतिनिधि सहित ७२ जनाले उम्मेदवारी मनोनयन गरेका छन् । 

राष्ट्रिय जनमुक्ति पार्टीबाट धरानको मेयरमा राजेश खिम्दुङ, उपमेयरमा श्यामकुमार तामाङ र ११ नम्बरको वडाध्यक्षमा कल्पना याक्खाले उम्मेदवारी मनोनयन गरेको राष्ट्रिय जनमुक्ति पार्टीले जनाएको छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट धरानको मेयरमा अम्बरबहादुर इजम लिम्बू, उपमेयरमा सरस्वती सुब्बाले उम्मेदवारी मनोनयन गरेका छन् । 

मौलिक जारो किलो पार्टीबाट मेयरमा रेणुका विकले र हेमकुमार दाहालले उपमेयरमा उम्मेदवारी मनोनयन गरेका छन् ।  यस्तै दत्तकुमार लिम्बुले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  

यस्तै, विभिन्न ८ वटा वडामा वडाध्यक्षका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । वडा नं १ मा विहानसिं श्रेष्ठले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने वडा ११ मा बबी राई, वडा ७ मा अशोक राई, वडा ६ मा भूपेन्द्र भट्टराई, वडा १५ मा मिनेन्द्र कार्की धोली र वडा १७ मा रसिक लिम्बु थेबेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले धरान उपमहानगरपालिकाको १३ वटा वडामा वडाध्यक्षमा उम्मेदवारी मनोनयन गरेको छ । धरान १ मा दिलकुमारी राई लिम्बू, धरान ५ मा राजेन्द्र लिम्बू, धरान ८ मा निर्मल कुमार राई, धरान १० मा हस्तकला लिम्बू राई, धरान ११ मा सन्जुहाङ साँवा, धरान १२ मा विनोद राई, धरान १३ मा काजीमान लिम्बू, धरान १४ मा तेजहाङ लिम्बू, धरान १५ मा गोविन्द लिम्बू लाबुङ, धरान १७ मा प्रेम मादेन, धरान १९ मा लिलाहाङ लिम्बू (आदत) धरान २० मा फुलमाया तामाङले उम्मेदवारी मनोनयन गरेका छन् । 

वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारी मनोनयन गर्ने दिन निर्वाचन आयोगले तोकेकोले सोमबार नेकपा एमालेले बिहान ११ बजे देखि २ बजे सम्म र दिउसो २ बजे देखि ५ बजे सम्म नेपाली काँग्रेस सहित गठबन्धन दलहरूले उम्मेदवारी मनोनयन गर्ने निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।