धरान : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय नेता तथा कार्यकर्ताले प्रचार प्रसारलाई तीव्रता दिएका छन् । 

धरानमा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारहरूले घरदैलो प्रचारप्रसार सँगै मतदातासँग भेटघाटलाई तीव्र बनाएका छन् । धरानको मुख्य समस्या हो, खानेपानी ।

निर्वाचनका बेला धेरैले खानेपानीको समस्या समाधान गर्छु भने पनि बर्षाैं बितिसक्दा पनि धरानको मुख्य समस्या समाधान गर्न कसैले सकेको छैन । यस पटकको निर्वाचनमा पनि उम्मेदवारहरूले  खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन् । तर नगरवासी भन्छन् "जुनै जोगी आए पनि कानै चिरेको"।

निर्वाचन नजिकिँदै गर्दा नगरवासीको घरदैलोमा भोट माग्न पुगेका उम्मेदवारहरूले चुनाव जितेपछि जनतालाई बिर्सिने गरेको नगरवासीको गुनासो छ । सोही गुनासो गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार किशोर राई र आइन्द्र विक्रम बेघाले वडा नम्बर-१९ का मतदातालाई भेट्ने क्रममा पनि सुनियो । 

नगरवासीको गुनासोलाई मध्यनजर गर्दै नेपाली काँग्रेसका मेयरका उम्मेदवार किशोर राईले यस पटक नगरवासीलाई गुनासो गर्ने मौका नदिने बताए ।  मेयर साप भएर होइन धराने जनताको सेवक भएर मेयर उपमेयर भएर जनताको पक्षमा काम गर्ने छु,” उनले भने, "यस पटक कान चिरेको होइन कान सुन्ने जोगी आउँछ ।"

मेयरका उम्मेदवार राईले अन्य नेताले जस्तै ठुला-ठुला भाषण नगरी जनताको हितमा काम गर्ने बताए । धरानको अवस्था बदल्नका लागी तपाईँहरूको आशीर्वाद लिन आएको बताउँदै पानीको व्यवस्थापनमा केही सुधार भएको र अझै थप सुधार तथा नयाँ स्रोतको व्यवस्थापनमा १ मिनेट पनि विलम्ब नगरी काम गर्ने बताए ।