चतरा : वराहक्षेत्र नगरपालिकाको पछिल्लो मतगणना अनुसार गठबन्धनबाट मेयर प्रत्याशी रमेश कार्कीले अग्रता कायमै राखेका छन्। 
शुक्रवार दिउँसो २ बजे सम्मको मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेसका कार्कीले नेकपा एमालेका उम्मेदवार निलम खनाललाई २ हजार ६ सय ३० को मतान्तरले पछाडि पारेका छन्। वडा नं १, २, ३, ४, ९, १०, ११ को अन्तिम नतिजा आइसकेको छ भने वडा नं ८ को २६ सयको परिणाम सार्वजनिक भएको छ। 
हालसम्म २६ हजार ५ सय ५५ मत गणना हुँदा गठबन्धनका कार्कीको पक्षमा १२ हजार ५१ मत र एमालेका खनालको पक्षमा ९ हजार ३ सय २१ मत प्राप्त भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
११ वडा रहेको वराहक्षेत्रमा वडा नं १ मा नेकपा एमालेका किसान मगरको प्यानल विजयी भएको थियो भने वडा नं २ मा नेकपा एमालेबाटै होमप्रसाद गौतमको प्यानल विजयी भएको थियो । त्यस्तै वराहक्षेत्र ३ मा गठबन्धनबाट काँग्रेसका राजदिप लामाको प्यानल विजयी भएको छ। वडा नं ४ मा एमालेका आशाराम चौधरीको प्यानलनै विजयी भएको छ भने वडा नं ९ मा गठबन्धनबाट काँग्रेसका निरञ्जन मण्डल चन्द्रवंशीको प्यानल वडा नं १० मा गठबन्धनबाट नेपाली काँग्रेसका तेजबहादुर गुरुङको प्यानल विजयी बनेको थियो । भने वडा नं ११ मा काँग्रेसका कृष्णकुमार महतको प्यानल विजयी बनेको थियो ।
पछिल्लो वडा नं ८ को २६ सयको परिणाम अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। मेयरको पदमा कार्कीले ११ सय ८५ र खनालले ९ सय ३२ मत प्राप्त गरेका छन्।