इटहरी : नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिकामा पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको छ। गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हेमकर्ण पौडेलको विजयी सँगै काँग्रेसले इतिहास बनाएको हो ।
पौडेलले २०५७ सालमा इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसमा स्ववियु जितेर इतिहास बनाएका थिए। त्यसअघि एमाले निकट अनेरास्ववियुको जित्दै आएको क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको तर्फबाट उनले इतिहास बनाएका थिए।
आइतबार बिहान सम्पन्न मतगणना अनुसार पौडेलले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका छन् । जम्मा ७३ हजार ८ सय ३२ मत खसेको इटहरीमा पौडेलले ३३ हजार ४९ मत पाउँदा सुब्बाले २८ हजार ३१ मत मात्र ल्याउन सके ।
उपमेयरमा एमालेकी उम्मेदवार सङ्गीता चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भएकी छिन् । उनले नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गरिन् । गठबन्धनको उम्मेदवार रहेका विष्टले १८ हजार ३१ मत पाए ।
२० वडा रहेको इटहरीमा मेयर पद हात पारे पनि नेपाली काँग्रेसले बहुमत वडाहरू गुमाएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा १२ वटा वडा जितेको काँग्रेस यस पटक ४ वटामा खुम्चिएको छ। एमालेले १५ वटा वडा जितेको छ । एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।