धरान : धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । कुल मतगणना भइसक्दा उनले २०८२१ मत ल्याउँदै विजयी भएका हुन् । नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पछि पार्दै उनी विजयी भएका छन् ।
धरानमा कुल १००३२४ मत मध्ये ६२०९८ मत खसेको थियो । गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले १६०५९मत सहित दोस्रो भएका छन् । कम्युनिस्टको गढ मानिएको धरानमा नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२८२५ मत पाएर तेस्रो स्थानमा पुगेकी छिन् । 
उपमेयरमा नेकपा माओवादीको तर्फबाट गठबन्धनका उम्मेदवार आइन्द्र विक्रम बेघाले २०५१० ल्याएर विजयी भएका छन् भने नेकपा एमालेका उम्मेदवार पदम इस्बोले १७६०६ मत प्राप्त गरेका छन् । 
नेकपा एमालेबाट २०४८ सालमा ध्यान बहादुर राई र २०५४ सालमा मनोज मेन्याङ्बो मेयर बने । २०७४ मा नेकपा एमालेबाट तारा सुब्बा मेयरमा निर्वाचित भए । सुब्बाको २०७५ साउन १ गते निधन भएको थियो । सुब्बाको निधन पछि २०७६ मङ्सिर १४ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका थिए। साम्पाङले त्यस बेला पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । खानेपानीको बोतल चुनाव चिह्न पाएका उनले ५४० मत मात्र ल्याएका थिए । त्यही बेला आगामी निर्वाचन पनि उठ्ने घोषणा गरेका उनी विभिन्न अभियानमा जोडिए । 
उनै राईको कार्यकालबाट उदाएका साम्पाङ अहिले नेतृत्व मा पुगेका छन् । सर्दु खोला उत्खननको विरोध देखी खानेपानी अभियानमा जोडिएका उनी आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्न रुचाउँछन् । भ्रष्टाचार नियन्त्रणको मुद्दा बोकेका उनी यो पटक लौरो चुनाव चिन्ह सहित मैदानमा उत्रिएका थिए । 
पछिल्लो अवस्था हेर्दा उनको पक्षमा काँग्रेस र एमाले दुवै दलको मत पाएका छन् । अत्यधिक मतका साथ एमालेका वडाध्यक्ष विजयी भएको ८ र १५ नम्बर वडामा साम्पाङले एमाले उम्मेदवार भन्दा दोब्बर मत पाएका छन् । त्यस्तै काँग्रेसका वडाध्यक्ष विजयी भएको ११ र १८ नम्बर वडामा पनि उनी दोब्बर मत पाएका छन् । 
खानेपानी र भ्रष्टाचार विरोधी अभियानलाई तीव्र बनाएका उनलाई खानेपानीको विकराल अवस्था भोगिरहेका धराने जनताले मन पराए । लामो समय राजनीतिक मुद्दा बनेको खानेपानी धरानको प्रमुख समस्या हो । त्यही समस्यालाई लामो समय देखी अभियानमा बदलेका साम्पाङले धराने जनताको मत र मन जितेका छन् । 
धरानको अन्तिम मत परिणाम अनुसार नेकपा एमालेले २,४,५,७, ८, १०, १२, १३, १५ र १९ सहित १० वटा वडा जितेको छ । नेपाली काङ्ग्रेसले १, ३, ९, ११, १६,१८ र २० सहित ७ वटा वडामा विजयी भएको छ । त्यस्तै वडा नम्बर १४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जितेको छ । नेकपा माओवादी केन्द्रले वडा नम्बर १७ जितेको छ भने वडा नम्बर ६ मा धारा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका भूपेन्द्र भट्टराई विजयी भएका छन् ।
Harka-Sampang-lauro