धरान : धरानको खानेपानी मुहानमा अहिले दैनिक ८ जना संयुक्त सुरक्षाकर्मी खटिने गर्दछन् । धरान उपमहानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले साता यता खानेपानीको मुहानमा सुरक्षा प्रदान गर्दै आएको छ ।

यसरी खानेपानीको मुहानमा सुरक्षा दिन थालेपछि अहिले धरानको मुख्य खानेपानी मुहान रहेको खर्दु आपगाछी क्षेत्र सुरक्षित र सफा भएको छ । तर त्यहाँ खट्ने सुरक्षाकर्मीहरू घाम लाग्दा रुखको छायामा बसे पनि पानी पर्दा भने निथ्रुक्क भिज्नु पर्ने अवस्था छ । 

दैनिक २ सिफ्टमा खटिने सुरक्षाकर्मीहरूलाई खानेपानी कै मुहानमा खटे पनि खानेपानी र शौचालयको समेत समस्या छ । खानेपानीको त जसो तसो जोहो हुन्छ तर अचानक मुसलधारे पानी पर्दा र हावा हुरी आउँदा भने ओतिनका लागि रुखको फेद बाहेक केही विकल्प नभएको खानेपानीको मुहानमा खटिएकी नगर प्रहरी जवान सङ्गीता लिम्बुले बताइन् । पानी मात्रै पर्दा त ठिकै हो ओतिन, तर हावा हुरी आउँदा रुखको फेद जोखिम हुने गरेको उनले बताइन् । 

खानेपानीको मुहान प्रवेश गर्ने ठाउँ आपगाछी क्षेत्रमा बसेर दैनिक पहरा दिइरहेका सुरक्षाकर्मीहरू पानी पर्दा ओतिने र तिर्खा लाग्दा खानेपानी सँगै शौचालय नहुँदा समस्या हुने गरेको उनीहरू बताउँछन् । नगर प्रहरी जवान सुजन बस्नेत भन्छन्– ओत लाग्ने ठाउँ र शौचालय चाही भइदिए सारै राम्रो हुने थियो । खानेपानी त जसो तसो भइहाल्छ । यी दुई कुराको अति नै जरुरी भएको बस्नेतको भनाई छ । 

दैनिक डिउटीमा खटिने सुुरक्षाकर्मीहरुका लागि आलो पालो सिस्टम भए पनि ओत लाग्ने ठाउँ नहुँदा समस्या भएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइराला बताउँछन् । खानेपानीको त व्यवस्थापन हुन सक्छ तर ठुलो पानी पर्दा र खानेपानीको मुहान क्षेत्र भएकोले शौचालयको अत्यन्तै आवश्यकता भएकोले यसबारेमा पहल हुन जरुरी भएको उनी बताउँछन् । 

खानेपानीको मुहान क्षेत्रमा दैनिक संयुक्त सुरक्षा टोली खटिन थालेपछि अहिले खानेपानीको मुहान क्षेत्रमा पौडी खेल्ने, लुगा धुने, पिकनिक खान आउन र सो क्षेत्रमा घाँस दाउरा गर्न पुर्णरुपमा निषेध गरिएको छ । यसले गर्दा खानेपानीको मुहान सफा भएको छ ।

धरान–भेडेटार सडक खण्डको आपगाछी क्षेत्र समेत अहिले सफा देखिन थालेको छ । विगतमा गाडी रोकेर दिसा पिसाब गराउने ठाउँ र चाउचाउको खोल, पानीको बोतल जहीतही फालिएको र दुर्गन्धित बनेको आपगाछी क्षेत्र समेत अहिले सफा भएको छ । 

यसरी खानेपानीको मुहान क्षेत्र सुरक्षाका लागि खटिने सुरक्षाकर्मीलाई मध्यनजर गरी आपगाछी क्षेत्रमा घाम र पानीबाट जोगिनका लागि एउटा ओत लाग्ने ठाउँ र शौचालय बनाउन अत्यन्तै जरुरी देखिएको छ । यसबारेमा धरान उपमहानगरपालिकाको ध्यान जान जरुरी छ ।