धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा मतदान सुरु भएको छ । 

सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेको छ । विजय श्रेष्ठ, पवन अग्रवाल र शिवराज श्रेष्ठ ३ जना अध्यक्षको आकाङ्क्षी रहेका छन् । विजय यसअघिको निर्वाचनमा गिरिधारी सापकोटासँग झिनो मतले पराजित उम्मेदवार हुन् भने पवन पूर्व अध्यक्ष हुन् । शिवराज हालका उपाध्यक्ष हुन् । विजय लोकतान्त्रिक प्यानलका र शिवराज वामपन्थी प्यानलका हुन भने पवन अहिलेसम्म स्वतन्त्र उम्मेदवारको रूपमा देखिएका छन् । 

विजय श्रेष्ठ प्यानलका ४ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । एसोसिएट तर्फ ३ सदस्यको लागि ३ जनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको छ । निर्विरोध निर्वाचित हुनेहरूमा गोपाल श्रेष्ठ, अशोक जैन र राजु शाह रहेका छन् । उद्योग महिलामा १ पदको लागि एक जना स्तुति श्रेष्ठको मात्र नाम मनोनयन दर्ता भएपछि उनी पनि सर्वसम्मत भइसकेकी छिन् । 

त्यस्तै वाणिज्य ८ पदका लागि २१, उद्योग सदस्य ४ पदका लागि ८, वस्तुगत तर्फ २ पदका लागि ५ र  वाणिज्य तर्फको १ महिला सदस्यको लागि २ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले जानकारी दिएका छन् । 

अधिकृत शर्माका अनुसार सुनसरी जिल्ला भरीका उद्योगी, व्यावसायीहरुले मतदान गर्न पाउने सङ्घको निर्वाचनमा २९७७ जना मतदाताले मतदान गर्न पाउने छन् । आज मतदान सम्पन्न भए पछि मतगणना भोलि हुने बताइएको छ । 

Ubasangh-nirbachan-2Ubasangh-nirbachan-1