धरान : धरानका तीन जना सहित झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित  पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ। 
प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धरान उपमहानगरपालिका-१५ का ३२ वर्षीय निश्चल बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी कुशेचौरी मोरङबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका पथरी शनिश्चरे ९ का २८ वर्षीय मिलन भण्डारी र २० वर्षीय अभिषेक लिम्बुको साथबाट ६०० मिलिग्राम ब्राउन सुगर र ट्रामाडोल ४८ चक्की, स्पाईसपेन ८५ चक्की सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 
यसैगरी झापाको मेचीनगर नगरपालिका-६ मा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका धरान-१६ सुनसरीका ३७ वर्षीय युसुफ सुब्बा र २७ वर्षीय  थोमस राईलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।