झापा : दमकको फुटपाथ व्यवस्थापन तथा व्यवस्थित बजारीकरणका विषयमा सरोकारवाला बिच छलफल भएको छ। दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको छलफलले अतिक्रमित फुटपाथ खाली गराउन ३५ दिने सूचना निकालेर सूचित गराउने निर्णय गरेको छ ।
छलफलमा नगर उपप्रमुख भट्टराईले दमकलाई व्यवस्थित बनाउन अतिक्रमित ठाउँ खाली गराउनै पर्ने र सो कार्यमा सबै पक्षको सहयोगको अपेक्षा गरेको बताइन । आफूहरू दमक बनाउने योजनामा प्रतिबद्ध भएको भन्दै यसमा नागरिक समाजको पनि सहकार्य आवश्यक रहेकोमा जोड दिइन । 
चाडबाडको समयमा मानिसहरूको चहलपहल अझ बढी हुने भएकोले यो बेलामा सुरक्षा निकायलाई पहिला भन्दा धेरै परिचालित हुन आग्रह समेत गरिन । उनले नगरपालिकाले सूचना जारी गरी फुटपाथ खाली गराउन आग्रह गर्ने र समय भित्र खाली नगराए प्रशासनको सहयोगमा खाली गराउने बताइन । उनले दमक बजारको पार्किङ समस्या समाधानका लागी खाली जमिन खोजी रहेको भन्दै कतै जमिन पाए भाडामा लिएर व्यवस्थित पार्किङ बनाउने योजना रहेको जानकारी दिइन ।
त्यसैगरी इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलीप गिरीले दमक बजारलाई व्यवस्थित बनाउने अभियानमा आफू एउटा सहयोगीको रूपमा रहने बताए । शान्ति सुरक्षालाई व्यवस्थित बनाउन तल्लीन रहेको भन्दै व्यवस्थित सहरीकरणको लागी पनि प्रहरी परिचालित हुन तयार रहेको बताए। कार्यक्रममा दमक वडा नम्बर १, ७ र ८ का वडाध्यक्षहरू सहित उद्योग बणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजु खड्का, साथीभाइ समूहका अध्यक्ष गङ्गा सिटौला, सब्जी व्यवसायी, यातायात व्यवसायी लगायतले सडकको अतिक्रमण हटाउन सबैको साथ रहेको जनाएका थिए ।
बैठकले ३५ दिने सूचना निकाल्ने र त्यसपछि प्रशासन लगायत सरोकारवालाको सहयोगमा अतिक्रमित क्षेत्र खाली गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।