धरान : ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ बास्केटबल टिममा छनौट भएका आफ्ना विद्यार्थीहरूलाई धरान मेघा हिमालयन कलेजले बधाई तथा शुभकामना दिएका छन् ।

बिहीबार धरान-९ स्थित क्लाउड नाइन रेस्टुरेन्टको हलमा एक कार्यक्रमको आयोजना गरी मेघा कलेजले आफ्नो  खेलाडीहरूलाई राष्ट्रिय प्रतियोगिताका लागि बधाई तथा शुभकामना दिएका हुन । 

यही असोज २८ गते देखि पोखरामा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बास्केटबल खेल तर्फ प्रदेश १ टिमका लागि धरान मेघा कलेजका  पाँच जना महिला र तिन जना पुरुष खेलाडीहरू छनौट भएका छन् । छनौट भएका महिला तर्फका खेलाडीहरूमा तनु राई, आस्था राई, शीतल तामाङ, सम्झना राई र निरुता राई रहेका छन् । यसै गरी पुरुष तर्फ दिवस राई, सविन राई (समीर) र योक राई रहेका छन्।

उनीहरूलाई धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले खँदा लगाएर बधाई दिँदै सम्मान गर्नका साथै राष्ट्रिय प्रतियोगिताका लागि शुभकामना दिएका हुन । कार्यक्रममा नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले समेत आफ्नो भनाइ राख्दै खेलाडीहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।

यही असोज ६ गते देखि ८ गते सम्म धरान-१६ स्थित धरान रङ्गशाला कभर्डहलमा प्रदेश १ महिला र पुरुष बास्केटबल खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको थियो । छनौट प्रतियोगिताबाट फुल कोर्ट तर्फ महिला र पुरुष १२/१२ जना र थ्री वाई थ्री तर्फ महिला र पुरुष ४/४ जना खेलाडी छनौट भएका थिए । उनीहरूले यही असोज २८ गते देखि पोखरामा हुने ९ औ राष्ट्रिय प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् ।

बधाई तथा शुभकामना कार्यक्रममा महिला राष्ट्रिय बास्केटबल खेलाडी एवं प्रदेश १ टिम क्याप्टेन डा.आशा राई, प्रदेश १ बास्केटबल खेलाडी हेमन्त राई, नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी सदस्य सञ्जय याक्खा लगायतको उपस्थिति रहेको थियो ।