इटहरी : इटहरीका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा मध्यरातमा सडक आश्रित मानवको उद्धार गरिएको छ। रातको समयमा इटहरी चोक तथा गल्लीहरूमा बस्दै आएका उनीहरूको मध्यरातमा सुतिरहेकै ठाउँबाट उद्धार गरिएको हो ।
इटहरीको मुख्य बजारमा दिनहुँ बिहान देखि बालबालिका युवा तथा वृद्ध सम्मका मानिस सडकमा कष्टकर जीवन यापन गरिरहेका थिए । उनीहरूलाई मेयर पौडेल आफै रातभर इटहरीको गल्ली गल्ली पुगेर उद्धार गरेका हुन । सडक आश्रित मानवहरूलाई निरन्तर उद्धार गरिने र परिवारसँग पुनर्स्थापना गर्ने गरी अभियान थालिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।
इटहरीलाई ‘सडक आश्रित मानव मुक्त सहर ‘बनाउने मुख्य उद्देश्यका साथ गए राति मध्यरात सम्म इटहरीको विभिन्न स्थानबाट १२ पुरुष सहित एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए । उद्धार गरिएका महिलालाई माया घर इटहरी र पुरुषहरूलाई मानव आश्रम विराटनगरमा पठाइएको छ। 
बालबालिकासहित सडक मानवहरू लागुऔषद्य सेवन गर्ने र चोरी डकैतीका घटनामा संलग्न हुने र कष्टकर जीवन यापन गर्दै आएका कारणहरूलाई सुतिरहेकै ठाउँबाट उठाइएको डिएसपी खड्काले बताए ।
राति ८ बजे देखि सुरु भएको अप्रेसन मध्य राति साढे १२ बजे सम्म चलेको थियो । अप्रेसनमा मेयर पौडेल सहित इटहरी-९ का वडाध्यक्ष जितेन थापा, नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, इलाका प्रहरी, माया घर नेपालका प्रतिनिधि, बालबालिका खोज तथा उद्धार केन्द्रका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।
यस्ता जोखिमपूर्ण तरिकाले सडकमा रहेका मानवहरू असुरक्षित त छदै छन् आपराधिक गतिविधिमा संलग्न नहुन र बालबालिका पनि रहेकाले उनीहरूको भविष्य सुरक्षित हुन सकोस् भनेर यो उद्धार अभियान अन्तर्गत उद्धार गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।