इटहरी : नेपाली काँग्रेसको अनुशासन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका बागी उम्मेदवार प्रस्तावक र समर्थक गरी ७४ जनालाई कारबाही गरेको छ । सुनसरीका महाधिवेशन प्रतिनिधि प्रेम भट्टराई, रोहित सुब्बा, जिल्ला सदस्य प्रदीप चौधरी र इटहरी उपमहानगरपालिका वडा नम्बर २ का सभापति दीपेन्द्र घिमिरे रहेका छन् ।  
सुब्बाले सुनसरी १ (ख) बाट गठबन्धनका उम्मेदवार रेवतीरमण राई विरुद्ध उम्मेदवारी दिएका छन् । चौधरीले सुनसरी ३ (ख) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । घिमिरे र भट्टराईले भने २ (क) बाट प्रतिस्पर्धामा उत्रिएका छन् । पार्टीको निर्णय विरुद्ध उम्मेदवारी दिएको भन्दै उनीहरू कारबाहीमा परेका छन् ।  
मङ्गलवार पार्टीको अनुशासन आयोगले विज्ञप्ति जारी गर्दै पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवार विरुद्धमा लाग्ने कार्यकर्तालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको हो ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको हो । उनीहरूको प्रस्तावक र समर्थक सबैलाई कारबाहीको दायरामा ल्याइने ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
कारबाही पर्नेहरूमा पूर्व सांसद अमरेस कुमार सिंह, केन्द्रीय सदस्य दिनेश कोइराला लगायत छन् ।