धरान : धरान उपमहानगरपालिका वडा नं. १ का पूर्व वडाअध्यक्ष रोशन अधिकारी नेपाली काँग्रेसमा फर्किएका छन् । अघिल्लो कार्यकालमा काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित अधिकारी गत स्थानिय चुनावमा काङ्ग्रेसबाट टिकट नपाएपछि राप्रपामा प्रवेश गरेका थिए । राप्रपाबाटै उनी काँग्रेस विरुद्ध वडाध्यक्षको उम्मेदवार समेत बनेका थिए । उनको उम्मेदवारीका कारण वडामा काँग्रेसले चुनाव जिते पनि उपेक्षाकृत ठुलो मतान्तर कायम गर्न सकेको थिएन । अधिकारी पुनः काँग्रेसमा फर्किएपछि १ मा काँग्रेसको वर्चस्व पुरानै अवस्थामा फर्किने विश्वास गरिएको छ ।
अधिकारीले कपुरी संवाददाता सँग भने ‘पार्टीमा भएको खराब प्रवृत्तिबाट असन्तुष्ट भएर पार्टी छोडेको थिएँ, तर पार्टी भित्रै बसेर खराब प्रवृत्तिसँग अन्तरसंघर्ष गर्दै सुधार गर्नुपर्छ भनेर पार्टीमै फर्किएको हुँ ।’ काँग्रेस कमजोर भए अधिनायकवादीहरूले टाउको उठाउने छन्, पार्टीमा फर्केर फेरी सक्रिय हुनुपर्‍यो भनेर पार्टीले आग्रह गरेको उनले बताए । वडा नं. १ काँग्रेसको गढ रहँदै आएको इतिहासलाई निरन्तरता दिनका लागि पनि आफू काँग्रेसमा फर्किएको उनले बताए । पार्टीमा फर्किए लगत्तै उनी चुनावी अभियानमा संलग्न भएका छन् । 
सोमवार लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूको वडा नं. १ मा गरिएको घरदैलो अभियानमा अधिकारी सङ्घीय प्रतिनिधि सभा सदस्यका उम्मेदवार मुक्सामहाङ मेयाङबो, प्रदेश सभा सदस्यका उम्मेदवार उमेश थापा सहितको समूहमा घरघर पुगेका थिए । चुनावका बेला सच्चा काँग्रेस कार्यकर्ताहरूले असन्तुष्टिहरूलाई थाती राखेर गठबन्धनको उम्मेदवारहरूलाई जिताउन भूमिका खेल्नुपर्ने उनको भनाई छ । गठबन्धनको घरदैलो कार्यक्रम हिजो धरान १ र १६ मा चलेको थियो ।
नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले पूर्व वडाध्यक्ष अधिकारी पार्टीका पदाधिकारी, कार्यकर्ताहरूको औपचारिक कार्यक्रमका बिच पार्टीमा पुनः प्रवेश गरेको बताए । गतसाता धरान-५ देवी गाउँमा एका कार्यक्रमका बिच अधिकारीलाई पार्टीमा पुनः स्वागत गरिएको हो । सभापति पोखरेलका अनुसार पार्टीको गल्ती, त्रुटिबाट असन्तुष्ट भई जहाँ गए पनि काँग्रेस कार्यकर्ताहरू काँग्रेस नै रहेका हुन्छन् । स्थानिय चुनावका बेला असन्तुष्ट भए पनि अधिकारीले काँग्रेसलाई माया मारेका थिएनन्, उनी काँग्रेस नै रहेकाले पार्टीमा क्रियाशील भएको पोखरेलले बताए ।
roshan-adhikari-2-congress