इटहरी : नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । दुवै उम्मेदवारको प्रतिष्ठाको लडाई सँग हेरिएको झापा ३ मा लिङ्देनले सिटौलालाई दोस्रो पटक पराजित गरेका हुन् । २०७४ को निर्वाचनमा नेकपा एमाले सँग गठबन्धन गरेर सिटौलालाई पराजित गरेका उनले  यस पटक पनि सोही अभ्यास दोहोर्‍याएका छन् । 
बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत पाउँदा सिटौलाले ३७ हजार ३७२ मत ल्याए । २०७४ सालको निर्वाचनमा लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा भने सिटौलाले लिङ्देनलाई पराजित गरेका थिए । २०७१ सालमा तत्कालीन राप्रपा नेपालको महामन्त्री बनेका लिङ्देन २०७८ मङ्सिरमा भएको महाधिवेशनमा कमल थापालाई पराजित गरेर अध्यक्ष चुनिए । 
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र काँग्रेसको गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका सिटौला पुनः संसद् प्रवेश हुनबाट रोकिएका छन् । सिटौला काँग्रेसका पूर्व महामन्त्री हुन् । उनको पार्टी भित्र र बाहिर पनि प्रभाव कम हुँदै गएको छ । 
निर्वाचन परिणाम सँगै झापा ३ ले गणतन्त्रको  पक्षधर सिटौलालाई अस्वीकार गरेको छ । विजयी उम्मेदवार लिङ्देन हिन्दु राज्य र राजतन्त्रका अभियन्ता हुन् । उनको पार्टी राप्रपाले राजसंस्थाको पुनर्स्थापना र हिन्दु राज्य नेपालको नारालाई प्रमुख मुद्दा बनाउँदै आएको छ । 
सिटौलाको पराजय र लिङदेनको विजयलाई गणतन्त्रवादीको हार र राजावादीको जितको रूपमा हेरिएको छ । सिटौला नेपाललाई धर्मनिरपेक्ष घोषणा गराउने मध्येका एक प्रमुख हिमायती हुन् । नेपालको संविधान २०७२ को संविधान मस्यौदा समितिका सभापति समेत रहेका सिटौला राजतन्त्र र हिन्दु राज्यको मुद्दा स्थापित हुनुहुँदैन भन्ने मान्यता राख्छन् ।