इटहरी : मोरङको क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार सुनिल शर्माको जीत निश्चित भएको छ । नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाल सँग प्रतिस्पर्धा गरिरहेका शर्मा भारी मतान्तरले अगाडी बढेका छन् । २०७४ को निर्वाचनमा शर्मालाई पराजित गरेका ढकाल पछि स्वास्थ्य मन्त्री समेत भए । हाल उनै ढकाल शर्मा सँग पराजित हुने अवस्थामा पुगेका छन् । 
उता कलाकारीमाबाट राजनीतिमा होमिएका रेखा थापा भने दोस्रो हुन कसरत गरिरहेकी छिन् । थापाको चुनावी अभियानलाई हेरेर भारी मत पाउने अपेक्षा गरिए पनि दोस्रो भन्दा निक्कै कम मतले उनी पछि परेकी हुन् । 
९८ हजार ४ सय खसेको मत मध्ये ३७ हजार १ सय ६९ मत गणना भइसक्दा शर्माले १८ हजार १ सय ९४ मत पाएका छन् । ढकालले शर्मा भन्दा ७ हजार ४ सय ९८ मत कम अर्थात् १० हजार ६ सय ९६ मत पाएका छन् । उता थापाको मत भने सुस्त गतिमा वृद्धि भइरहेको छ । उनले हाल सम्म ३ हजार ७ सय ३९ मत पाएकी छिन् । हाल गणना भइरहेको क्षेत्र एमालेले आफ्नो आधार क्षेत्र दाबी गर्दै आएको थियो । 
प्रदेशसभामा पनि नेपाली काँग्रेसका उम्मेदवार अगाडी देखिएका छन् । प्रदेश (क) तर्फ मान बहादुर लिम्बु जितको नजिक पुगेका हुन् । एउटा बुथ गन्न बाकी  रहँदै उनले ४ हजार ५ सयको फरालीलो मतान्तर कायम गरेका छन् । लिम्बुले १८ हजार २ सय मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका दिलीपकुमार राईले १३ हजार ८ सय मत पाएका छन् ।