धरान: अंग्रजी नयाँ बर्षलाई लक्षित गरेर आजदेखि ३ दिने सातौं भेडेटार फुड फेस्टिवल शुरु हुदैछ । दिउँसो एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फेस्टिवलको उद्घाटन गर्ने कार्यक्रम छ ।

फेस्टिवलको सम्पुर्ण तयारी भइसकेको आयोजक भेडेटार होटल एशोसिएनले जानकारी दिएको छ । पर्यटनको अफ सिजनमा अंग्रेजी नयाँ बर्षमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर विगत ७ बर्षदेखि भेडेटारका व्यवसायीहरुले फेस्टिवल आयोजना गर्दै आइरहेका छन् । ‘फेस्टिवलको सबै तयारी पुरा गरिसकेका छौ, आज मुख्यमन्त्री ज्युबाट उद्घाटन हुन्छ, र ३ दिनसम्म भेडेटार फेस्टिवलमय बन्छ,’खुशी व्यक्त गर्दै अध्यक्ष जितेन्द्र रुम्दालीले भने ।

aIMG_2570

फेस्टिवलमा आधुनिक परिकार पाउने स्टलसँगै विभिन्न जातीय मौलिक परिकारको स्टलहरु पनि रहन्छन् । यस्तै, अग्र्यानिक तरकारी उत्पादनको स्टल, घरेलु उत्पादनका सामग्रीहरुको स्टल, अल्लोका उत्पादनहरुको स्टल पनि रहन्छन् । विभिन्न साँस्कृतिक, सांगीतिक कार्यक्रमहरु पनि निरन्तर चल्नेछ भने हेलि टुरको नयाँ प्याकेज पनि यसपाली फेस्टिवलमा रहेको छ । सिम्रिक एयरको हेलिकप्टरबाट भेडेटारदेखि २६ किलोमिटर सेरोफेरोमा हेलिबाट टुर गराउने प्याकेज छ ।

हाल साँगुरीगढी गाउँपालिका बनेको साविक भेडेटारमा थुप्रै पर्यटकीय गन्तव्यहरु छन् । भेडेटार आफैमा पर्यटकीय गन्तव्य हो भने यसका आसपास पनि थुप्रै सहायक गन्तव्यहरु छन् । ती गन्तव्यहरु विना भेडेटार आफै मात्र पुर्ण गन्तव्य हुनसक्दैन । यहाँ ती आसपासका गन्तव्यहरुबारे संक्षिप्त चर्चा गरिएको छ:

शंखेश्वर महादेव मन्दिर:

aDSC06072

कलाकार रोजन राईले तयार पारेको शंखेश्वर महादेवको मन्दिर भेडेटारको प्रमुख आकर्षण एवं गन्तव्यमध्ये एक हो । शंकको आकारमा निर्माण भएको कलात्मक मन्दिरले पर्यटकहरुलाई लोभ्याउछ । यहाँ पुगेर मन्दिर भित्रको शिलाको दर्शन गर्नु र सेल्फी वा फोटो खिच्नु पर्यटकहरुको भिड लाग्छ । मन्दिरसँगैको पार्कबाट धरान भेडेटार सडकखण्डको नागवेली दृष्य र प्राकृतिक सौन्दर्य निकाल्नुको मजा नै छुट्टै हुन्छ ।

नमस्ते झरना:

aDSC_1430

भेडेटार चोकदेखि करिब ९ किलोमिटर धनकुटातर्फ कोशी राजमार्गको यात्रापछि नमस्ते मोड पुगिन्छ । त्यहाँबाट १० मिनेट जति हिडेर पुगिन्छ नमस्ते झरना । यसलाई सिम्सुवा झरना पनि भनिन्छ । यो झरनाविना भेडेटारको पर्यटन अधुरो, अपुरो हुन्छ । किनभने, हिजोआज भेडेटार पुग्ने पर्यटकहरुको गन्तव्य नै यो झरनामा पुग्ने हुन्छ । भारतीय पर्यटकहरु नमस्ते झरनामा रमाउनकै लागि आउने गरेको अध्यक्ष रुम्दालीले बताए । उनले भने, भारतमा नमस्ते झरनाको असाध्यै चर्चा भएको रहेछ । भेडेटार आउने भारतीय पर्यटकहरु नमस्ते झरनामा रमाउनकै लागि आएका हुन्छन् ।

नाम्जे होम स्टे र आत्मा बस्ने घर:

aIMG_2692

भेडेटार चोकदेखि करिब ४ किलोमिर पुर्व राजारानी सडक खण्डमा पर्छ, सुन्दर गाउँ नाम्जे । अमेरिकी समाचार संस्था सिएनएनले विश्वको पुग्नै पर्ने ग्रामिण गन्तव्यमा यो गाउँलाई पनि समेटेपछि विश्वभर चर्चा कमाएको थियो । त्यसपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । यहाँ एक रात बस्न, अग्र्यानिक खाना र स्वागत, सत्कार पाउनउकै लागि पर्यटकहरु आउने गरेका छन् । पर्यटकहरुलाई नाम्जेबासीहरुले होम स्टेमा राख्छन् । गाउँघरमा जे छ, त्यही पकाएर खुवाउछन् ।

aDSC_9464

नाम्जेको थुम्कीमा रहेको आत्मा बस्ने घर अर्को प्रमुख गन्तव्य हो । अमेरिकी अर्किटेकहरुले निर्माण गरेको यो ढुंगाको संरचना अनौठोको छ । मगरहरुको बाहुल्यता भएको गाउँ हो नाम्जे । त्यहाँ मृत्यु भएकाहरुलाई थुम्की डाँडामा लगेर दाहसँस्कार(गाड्ने) गरिन्थ्यो । त्यसैले त्यहाँ मगर पुर्खाहरुको थुप्रै चिहान थियो । विदेशी आर्किटेकहरुले ती चिहान उत्खनन् गरेर त्यहाँको ढुुंगाहरुको आकर्षक संरचना निर्माण गरिदिएका छन्, जुन अहिले आत्मा बस्ने घर भनेर चर्चित छ ।

साँगुरीगढी:

aIMG_2634

भेडेटार चोकदेखि पश्चिममा अवस्थित साँगुरीगढी ऐतिहासिक स्थल हो । यसलाई सायोक यक पनि भन्ने गरिन्छ । नेपाल एकीकरण हुनुपुर्व लिम्बू राजा सायोक हाङले निर्माण गरेको गढी अर्थात किल्ला भएको इतिहास छ । सामरिक महत्व बोकेको यो गढी निर्माण गर्न त्यसबेला धरानको फुस्रे, तामाखाम क्षेत्रबाट ढुंगा बोकाएर लगिएको किंवदन्ती छ । त्यहाँ अहिले पनि त्यसबेलाको ढुंगा सुरक्षित छ । पछिल्लो समय ती ढुंगाहरुलाई सिमेन्ट प्रयोग गरेर वलियो संरचना बनाइएको छ । त्यहाँबाट आकाश खुलेको बेला धरानको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ ।

पाथीभरा मन्दिर:

aIMG_9897

साँगुरीगढी नजिकै छ, पाथीभारा मन्दिर । यो मन्दिर ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरको शाखाकोरुपमा स्थापना गरिएको छ । यहाँ दर्शन गर्ने भक्तजनहरुको घुइचो लाग्छ । भेडेटार पुग्ने आन्तरिक पर्यटकहरुमा पाथीभरा देवीको दर्शन गर्न पनि जानेहरु पनि उल्लेख्य संख्यामा हुन्छन् । यहाँ मंगलबार र शनिबार बिशेष दर्शनार्थीहरुको भिड लाग्छ ।

सैलुङ डाँडा र भ्युः

aDSC_9579

भेडेटार चोक नजिकै रहेको छ, सैलुङ डाँडा । यसको अर्को चर्चित नाम हो, चाल्र्स पोइन्ट । बेलायती राजकुमार चाल्र्स करिब ४ दशकअघि यो डाँडामा चढेपछि चाल्र्स पोइन्ट भनेर नयाँ नामाकरण हुन पुगेको हो । यो डाँडाबाट वरीपरीको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट हिमश्रृंखला, धरान भेडेटार सडक खण्ड, अग्ला र सन्दर पहाड, सप्तकोशी, धरानको केही भाग, इटहरी, विराटगरलाई पनि नियाल्न सकिन्छ । विगतमा यहाँ अग्लो भ्यु टावर पनि थियो । २०७२ सालको भुकम्पले क्षतिग्रस्त भएपछि भत्काएर नयाँ भ्यु टावर निर्माण भइरहेको छ ।

ओख्रे टावर:

aIMG_0080

भेडेटारबाट नाम्जे हुदै पुर्व लागेपछि पुगिन्छ, ओख्रे । त्यहाँ डाँडामा निर्माण भएको भ्यु टावर पछिल्लो समय गन्तव्य बनेको छ । यहाँबाट तराई, हिमाल र पहाडको सुन्दर दृष्य देख्न सकिने भएकोले पर्यटकहरुको घुइचो लाग्छ । यो टावरको तस्बिर फेसबुकमा राख्दा निक्कै नै आकर्षक देखिने भएकोले पनि आन्तरिक पर्यटकहरु यहाँ पुग्ने गरेका छन् ।

डाँडाबजार, ध्वजे डाँडा र सुर्योदय:

aIMG_7821

भेडेटाबार करिब १३ किलोमिटर पुर्वमा अवस्थित छ, सुन्दर गाउँ डाँडाबजार । यहाँ पनि होम स्टे सञ्चालनमा रहेको छ । पहिले अलग्गै गाविस रहेको डाँडाबजार अहिले साँगुरीगढी गाउँपालिका ५ मा पर्छ । यही अवस्थित ध्वजे डाँडाबाट सुर्याेदयको मनोरम दृष्य हेर्नको लागि चर्चित ठाउँ हो । त्यति मात्र होइन, यहाँबाट हिमाल, पहाड र तराईको सुन्दर दृष्य पनि देखिन्छ । यही डाँडाबजारको लाप्चेटारमा छ, एसियाकै दोस्रो ठुलो वरको रुख । यो पनि पर्यटकहरुको लागि अर्को सुन्दर गन्तव्य हो ।