धरान : मुन्धुममा वर्णन गरिएको लिम्बु, याक्थुङ समुदायको पहिलो उत्पतिस्थल सावायेत्हाङ पाङभेको नमुना पर्यटकीय स्थल धरानमा बनाउन युमा साम्यो महासभाले अवधारणा सार्वजनिक गरेको छ । धरान वडा ५ कागुने स्थित करिब १७ कट्ठा जग्गामा बनाउन सकिने मुन्धुमी पर्यटकीय स्थलको बारेमा आज सोमवार अन्तरक्रिया आयोजना गर्दै साम्योले अवधारणा प्रस्तुत गरेको हो ।
मुन्धुमकै आधारमा लिम्बु जाति सातौँ शताब्दीमा सावायेत्हाङका आठभाई राजाका सन्तान भएको भनिँदै आएको छ । मुन्धुममा वर्णित प्राग ऐतिहासिक स्थल सावायेत्हाङ पाङभेको अवशेष अहिले पनि ताप्लेजुङ इखाबु तमर खोला वरपर पाइने मुन्धुमका अध्येता लालीगुराँस नगरपालिका मेयर अर्जुनबाबु माबुहाङले स्थलगत विवरण प्रस्तुत गरे ।
उनका अनुसार मुन्धुममा सावायेत्हाङ पाङभेलाई आदिमस्थलको रूपमा उल्लेख गरिएको छ । मानव जीवन त्यहीँबाट सुरु भएको पाङभेलाई अलौकिक ठाउँ, सृष्टिको सुरुआत भएको स्थल, स्वर्गको रूपमा वर्णन गरिएको छ । लिम्बु समुदायको संस्कारमा मृत्युपछि दिवङ्गतको आत्मालाई पेगिफाङसामहरुले अन्तिम काकृयासंगै अन्ततः सावायेत्हाङमै पुर्याउने गरिँदै आएको छ । 
धरानमा मुन्धुमीस्थल बनाउन सकिने बारेमा छलफलमा आएको सुझावका आधारमा यसको डिजाइन र डिपिआरको जिम्मा आर्किटेक्टलाई दिइने उनले बताए । मेयर माबुहाङले लालीगुराँस नगरपालिका वसन्तपुरमा मुन्धुममा वर्णित स्थलको रूपमा चोत्लुङ पार्क निर्माण गरेर चर्चामा आएका छन् । उक्त पार्क पर्यटकहरूका लागि आकर्षणको गन्तव्य बनेको छ । 
छलफल कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रदेश प्रमुख प्राडा.गोविन्द तुम्बाहाङले प्रस्तावित मुन्धुमीस्थलमा मातृभाषाको शिक्षाको विद्यालय सञ्चालन गर्न छुटाउन नहुने सुझाव दिए । प्राध्यापक बालकृष्ण माबुहाङले योजनालाई पर्यटनसँग जोड्नु जरुरी भएको बताए ।
प्राध्यापक ध्रुव सुब्बाले ठुलो योजना भएता पनि तत्काल ससाना पूर्वाधार बनाउँदै सबैको सहयोगमा विकास गर्दै लैजान सुझाव दिए । प्राध्यापक चन्द्र सुब्बाले अवधारण अनुसार मेगा योजना भएको बताउँदै योजनामा मौलिक चिनारीहरू छुटाउन नहुने बुँदागत सुझाव दिए ।
नेकपा माओवादी केन्द्रका नेता मुक्सामहाङ मेयाङबोले सावायेत्हाङ पाङभे पार्कको अवधारण प्रदेशकै पर्यटकीय योजनाको रूपमा अघि आएको बताउँदै सरकारको समेत योजनामा पारेर यसको लागि साधन श्रोत जुटाउन सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे । पत्रकार हर्ष सुब्बाले योजना ठुलो भएकोले तिने तहको सरकारको सहयोगमा मात्र मन्धुमीस्थल निर्माण हुनसक्ने सुझाव दिए ।
साम्योका महासचिव डा.रमेश इजमले लिम्बु जातिको उत्पत्ति स्थलहरू, ऐतिहासिक सांस्कृतिक स्थलहरू विकासको नाममा हुने अतिक्रमणले नष्ट गर्ने क्रम नरोकिएको बताए । नयाँ पुस्ताको अध्ययन अनुसन्धानका लागि पनि प्रागैतिहासिक स्थलहरूको नमुनै भए पनि निर्माण जरुरी भएकाले सावायेत्हाङ पाङभे निर्माणको अवधारणा विकास गरिएको बताए । 
छलफल कार्यक्रम युमा साम्योका केन्द्रीय अध्यक्ष देवेन्द्र वनेमको सभापतित्वमा भएको थियो । सञ्चालन सन्तोष कुरुम्भाङले गरेका थिए ।