धरान : नेपाली नम्बरको मोटरसाइकल चोरी गरेर भारतीय नम्बर प्लेट लगाएर चलाउँदै गरेको साथै कागजात बिना भारतीय नम्बरका थप दुई मोटरसाइकल सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरीको देवानगञ्ज गाउँपालिका-३ का १८ वर्षीय राजकुमार यादव, भारत अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशील कुमार यादन र भारत पोसदाह पञ्चायतका २५ वर्षीय सौरभ कुमार यादव छन् । मोटरसाइकल चोरी धन्धामा संलग्न उनीहरूलाई प्रहरीले विराटनगर-७ बाट पक्राउ गरिएको हो ।

उनीहरूबाट गत फाल्गुन १० गते विराटनगर-७ सडक साइडमा पार्किङ गरी राखेको बेलबारी-४ का बमबहादुर खवासको को २५ प १९४५ नम्बरको मोटरसाइकल चोरी गरी भारतीय नम्बर बिआर ३५८०२ लेखी चलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

उक्त मोटरसाइकलका साथै भारतीय नम्बर प्लेट बिआर ३८क्यु८६५६ र बिआर ३८टी००२१ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुई मोटरसाइकलको आवश्यक कागजात नभएकाले नियन्त्रणमा लिइएको हो ।

चोरीको मोटरसाइकल सहित पक्राउ परेका तीनै जनाको मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको मोरङ जिल्ला प्रहरीले जनाएको ।