धरान : धरान-२, सिंहदेवीचौक स्थित नेशनल एकेडेमीले आइतबार आफ्नो वार्षिक समारोह सम्पन्न गरेको छ ।
विद्यालयमा आयोजित समारोहमा विद्यार्थीहरूका विभिन्न प्रस्तुतिसँगै पुरस्कार वितरण गरिएको थियो । शैक्षिक वर्ष ०७९ मा आयोजित खेलकुद सप्ताहका विभिन्न खेलमा विजेता खेलाडी विद्यार्थीहरूलाई सो अवसरमा पुरस्कार वितरण गरिएको थियो ।
खेलकुद सप्ताह अन्तर्गत मन्टेश्वरी तहका विद्यार्थीहरूलाई म्युजिकल चेयर, इन आउट, चकलेट रेस, इलेमेन्टरी तहका विद्यार्थीहरूलाई रिले रेस, हाजिरी जवाफ, स्पेलिङ, चित्रकला, भ्यागुता उफ्राइ र सेकेण्डरी तहका विद्यार्थीहरूलाई फुटबल, भलिबल, ब्याडमिन्टन आदी खेलहरू आयोजना गरिएको थियो ।
समारोहमा यस शैक्षिक वर्षमा मन्टेश्वरी तहबाट सर्वोत्कृष्ट घोषित विद्यार्थी ओसन राई, इलेमेन्टरीबाट सर्वोत्कृष्ट गुन्जन लिम्बु र सेकेण्डरी तहबाट सर्वोत्कृष्ट शिवम झालाई पुरस्कृत गरिएको थियो । यस शैक्षिक वर्षमा विद्यार्थीहरू मध्ये सबैभन्दा बढी अङ्क ल्याई स्कुल प्रथम हुने विद्यार्थी कक्षा ४ कि गुन्जन लिम्बुलाई समेत पुरस्कृत गरियो ।
विद्यालयले प्रत्येक वर्ष अभिभावकहरू मध्येबाट उत्कृष्ट एक अभिभावकलाई गार्जेन अफ द इयर अवार्डबाट सम्मानित गर्दै आएको छ । यस वर्ष सो अवार्ड कक्षा ४ विद्यार्थी लिच्छविहाङ राईका अभिभावक आरती राईलाई प्रदान गरिएको थियो । यसै गरी विद्यालयको टिचर अफ द इयर अवार्ड भाइस प्रिन्सिपल समेत रहनुभएकी ममता लिम्बु र स्टाफ अफ द इयरको अवार्ड एकाउन्टेन्ट मञ्जु लिम्बुलाई प्रदान गरिएको थियो ।
सो अवसरमा विद्यालयमा डान्स, मोडलिङ र उसुमा नियमित स्रोत व्यक्तिको रूपमा कार्यरत क्रमशः मनीषा लिम्बु, मेरिना तुम्सा लिम्बु र रोहित लिम्बुलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।
नेशनल एकेडेमी प्रदेश नं. १ कै एक मात्र र पहिलो आइएसओ प्रमाण चिन्ह प्राप्त शिक्षण संस्था हो । यहाँ विद्यार्थीहरूको पठनपाठन नयाँ र फरक ढङ्गले गर्ने गरिएको छ । विद्यार्थीहरूलाई पुस्तकको ज्ञान गतिविधिहरू मार्फत दिइने शैली अवलम्बन गरिएको प्रिन्सिपल श्रीशीशा राईले बताए ।
national-academy