विराटनगर : विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रूपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएका छन् ।

महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई-सिफारिस र ई-पेमेन्टलाई प्रभावकारी बनाउने भएका छन् । महानगरका १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व सङ्कलनलाई प्रविधिमैत्री बनाउन लागेको हो ।

त्यसका लागि १९ वटै वडाका सचिवका लागि महानगरले एक दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । मेयर नागेश कोइरालाले सेवाग्राहीहरू घरमै बसेर सिफारिस लिन सक्ने वातावरण बनाउन लागेको बताउँदछन् । उनले जनतालाई सहज रूपमा सेवा प्रदान गर्ने सुशासन कायम गर्ने उद्देश्यले सबै सेवालाई प्रविधिमैत्री बनाउन लागिएको जानकारी दिए । 

“कुनै पनि काम लिएर भरिसक्यो वडा कार्यालय सेवाग्राहीहरू पुग्न नपरोस् भनेर हामीले सेवालाई प्रविधिमैत्री बनाउन लागेका छौँ,” मेयर कोइरालाले भने, “केही वडामा ई-सिफारिस कार्यान्वयनमा आइसकेको छ । अब सबै वडामा छिट्टै कार्यान्वयनमा ल्याउनेछौँ ।”उनले जनताले महसुस गर्ने गरी सेवालाई प्रविधिमैत्री बनाउन पनि निर्देशन दिएका छन् ।

उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि विद्युतीय सुशासनलाई जोड दिएको स्मरण गरे । उनले चालु आर्थिक वर्षबाट विद्युतीय सुशासन कार्यान्वयन सुरु भएको र आगामी आर्थिक वर्षदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सेवालाई प्रविधिमैत्री बनाउन सकिए जनतालाई सास्ती नहुने र कार्यालयमा समेत भीडभाड नहुने बताए । महानगरले वडा तहका सिफारिस मात्रै नभएर महानगरका सबै शाखा र महाशाखाका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने जानकारी दिएका छन् । 

वडामा ई-सिफारिस र ई-पेमेन्ट पूर्ण रूपमा लागू भएपछि अनलाइन सेवा प्रणालीको पक्रियाका विषयमा सार्वजनिक सूचना जारी गरेर महानगरवासीलाई जानकारी गराइने सूचना प्रविधि शाखाकी इन्जिनियर अर्चना कर्णले बताए ।

“अनलाइनमार्फत कसरी सेवा लिने भनेर हामी महानगरवासीलाई विभिन्न माध्यमबाट जानकारी गराउनेछौं,” कर्णले भने । अभिमुखीकरण तालिममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले सेवालाई प्रविधिमैत्री बनाउँदा जनशक्तिसमेत कम लाग्ने  बताउँदछन् ।

पहिलो चरणमा वडासचिवहरुलाई अभिमुखीकरण तालिम दिएको महानगरले केहीमै वडाका अन्य कर्मचारीहरूलाई पनि तालिम दिने तयारी गरिएको छ ।