विराटनगर : हरेक वर्ष बाढी पहिरोमा हुने ठुलो जनधनको क्षति न्यूनीकरणका लागि विद्यालय तहदेखि नै विपद् जोखिमको पूर्व तयारीका विषयमा विद्यार्थीलाई जानकार बनाउनु पर्ने धारणा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला व्यक्त गरेका छन् ।

उनले कतिपय देशमा १८ वर्ष पुगेका नागरिकले अनिवार्य रूपमा सैनिक तालिम लिनुपर्ने व्यवस्था भएको उल्लेख गर्दै नेपालमा पनि विपदबाट हुने जोखिम न्यूनीकरणका उपायहरू समेटेर सचेतना दिन सके केही हदसम्म क्षतिलाई कम गर्न सकिने बताए ।

सशस्त्र प्रहरी बल कंकालिनी गण हेटक्वाटरको जल उत्पन्न विपद् प्रतिकार्य अभ्यास कार्यक्रममा उनले भने ‘विद्यालय तहदेखि नै विपद् रोकथाम, नियन्त्रण, उद्धारका सचेतना जगाउन सके धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।’

प्रमुख अतिथि मेयर कोइरालाले नेपालमा हरेक वर्ष बाढी पहिरोमा ठुलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै विराटनगर महानगरपालिकाले बाढी र डुबानबाट हुने जोखिम न्यूनीकरणका लागि काम गरिरहेको जानकारी दिए ।

महानगरपालिकाले नगर प्रहरीलाई बाढी र डुबानमा परेका नागरिकको सकुशल उद्धारका लागि तालिम दिइएको बताए । महानगरपालिका र सशस्त्र प्रहरीबिच सहकार्य गरेर विपद् न्यूनीकरणका लागि काम गर्न सकिने उनको भनाइ थियो ।

डुबान समस्या कम गर्न हिउँदमै धेरैजसो नाला सफा गरिसकेको उनले दाबी गरे । मेयर कोइरालाले सशस्त्र प्रहरीले विपदबाट हुने जोखिम र न्यूनीकरणसँगै राहत र उद्धारका लागि पूर्वाभ्यास गरेर प्रशंसनीय कार्य गरेको बताए । उनले भने ‘बूढीखोला, केसलिया र सिंघियामा तटबन्ध नबाँधेसम्म डुबान समस्याको दीर्घकालीन समाधान हुँदैन ।’

बूढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले वर्षाको मौसम सुरु हुन लागेकाले बाढी र डुबानको जोखिमबाट बच्न तयारी अवस्थामा बस्नुपर्ने बताए । मोरङका प्रमुख जिल्ला अधिकारीले मोरङ विपद्का हिसाबले उच्च जोखिममा रहेको बताए ।

सशस्त्र प्रहरीको कंकालीनी बाहिनीका प्रमुख डिआइजी अञ्जनीकुमार पोखरेलले डुबान र बाढीमा फसेकाहरूलाई उद्धारका लागि सशस्त्र प्रहरीसँग दक्ष जनशक्ति रहेको जानकारी दिए । उनका अनुसार  अहिले सशस्त्र प्रहरीसित ५५ जना गोताखोर रहेको बताए ।

निकट भविष्यमा गोताखोरको सङ्ख्या १०० जना बनाएर सातै प्रदेशमा १० जना राख्ने व्यवस्था मिलाउने उनको भनाई छ । कंकालीनी गणका प्रमुख एसपी तीर्थकुमार थापाले धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरीले विगतदेखि नै विपद्का बेला राहत र उद्धारमा खटिँदै आएको बताए ।

bipad-2