इटहरी : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागी विनियोजन गरेको बजेटमा पहाडका जग्गा बाँझो नराख्ने बताएको छ । पहाडका बाँझो जमिनमा फलफूल खेती गरी उत्पादन वृद्धि गर्ने प्रदेश सरकारको योजना छ ।

पहाडको बाँझो जमिनमा फलफूल खेती गर्न उद्देश्य सहित माटोको गुणस्तर कायम गर्न 'स्वच्छ माटो स्वच्छ बाली' कार्यक्रम ल्याइएको छ । गाई भैँसी पालनमा विशेष जोड दिइएको बजेटमा नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार ‘एक स्थानीय तह एक उत्पादन कार्यक्रम’ अन्तरगत फलफूल तथा नगदे बाली खेतीलाई प्रोत्साहन गरिने भएको छ ।

मकै खेती प्रवर्द्धन २ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ । ‘उत्पादन साथमा नगद हातमा’ भन्ने नाराको साथ चिया खेतीको विकाशमा ४ करोड १० लाख बजेट छुट्टाइएको छ । 'हाम्रो उत्पादन हाम्रो संस्कृत' कार्यक्रम अन्तरगत रोजगारी सृजना गरी उद्यमशीलता प्रवर्द्धन गरिने भएको छ । साना उद्योगको प्रवर्द्धनको लागि स्टार्टअप उद्यम सम्बन्धी नीति अख्तियार गरिने भएको छ । अल्लो ऊन, बाँस, ढाकाको कपडा जस्ता स्थानीय उत्पादनको बजारीकरणमा प्रदेश सरकारले सहयोग गर्ने भएको छ ।

पहाडी दुर्गम गाउँमा ९० वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । पुल निर्माणबाट पहाडका स्थानीय लाभान्वित हुने लक्ष्य राखिएको छ । सिँचाइको व्यवस्था गरी कटानको समस्या समाधानलाई प्राथमिकताका साथ राखिएको छ । प्रत्येक नागरिकलाई आधारभूत खानेपानीको लक्ष्यका साथ ‘एक घर एक धारा’ को अवधारणा सार्वजनिक गरिएको छ । जसको लागि १ अर्ब ७६ करोड ३२ लाख विनियोजन भएको छ ।

गतिशील अर्थतन्त्र सेवाको आधार: यातायात पूर्वाधारको विकास कार्यक्रम सार्वजनिक भएको छ । निर्माणाधीन लोक मार्ग आगामी वर्ष निर्माण सम्पन्न हुने गरी ४ अर्ब ७५ करोड विनियोजन भएको छ ।

जनताको विद्युत् कार्यक्रम अन्तरगत ताप्लेजुङको ७७.५ मेगावाटको धुन्सा खोला र ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत आयोजना प्रदेश सरकारको साझेदारीमा निर्माण गरिने भएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयलाई प्रदेशको विशिष्टीकृत शैक्षिक संस्थाको रूपमा विकाश गर्न लागिएको छ । गुणस्तरीय तथा रोजगार मूलक शिक्षाको लागि ६ करोड ५१ लाख विनियोजन भएको छ। बालविवाह मुक्त प्रदेश अभियानमा किशोरी सशक्तीकरण कार्यक्रममा लागि १ करोड ३ लाख विनियोजन भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्णपाठ :