इटहरी : इटहरीका संस्थागत विद्यालयलाई अनिवार्य छात्रवृत्तिको लागि उपमहानगरपालिकाले परिपत्र गरेको छ । उपमहानगरले शिक्षा नियमावलीमा उल्लेख भए अनुसार विपन्न वर्गका विद्यार्थीको लागि छुट्टाइएको १० प्रतिशत छात्रछात्रा विवरण माग गरेको हो ।

शिक्षा महाशाखाले सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि विद्यार्थीलाई उपलब्ध गराएको छात्रवृत्तिको विवरण मागेको छ । १५ दिने सूचना जारी गर्दै उपमहानगरपालिकाले दलित, गरिब, सीमान्तकृत परिवारलाई समेटेर कुल विद्यार्थीको १० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न आग्रह गरेको छ ।

शिक्षा महाशाखाका अधिकृत फाल्गुनी प्रसाद काफ्लेका अनुसार विद्यालयमा भर्ना भएका कुल विद्यार्थी सङ्ख्याको दश प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान छ । हालसम्मको तथ्याङ्कको आधारमा १२९ संस्थागत, ३४ सामुदायिक र दुई वटा धार्मिक विद्यालयहरू छन् ।

संस्थागत विद्यालयले सरकारले तोके अनुसार छात्रवृत्ति दिए नदिएको खबरदारी गर्न उपमहानगरले विवरण माग गरेको काफ्लेले बताए । उनका अनुसार विद्यालय र विद्यार्थीको अद्यावधिक विवरण आउन बाकी रहेकाले कति विद्यार्थीले छात्रवृत्ति पाउँछन् भन्नेबारे यकिन गर्न सक्ने अवस्था छैन । 

समग्रमा एउटा विद्यालयमा ५ सय जना विद्यार्थी हुँदा ६ हजार भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । माध्यमिक तह सम्म पढाई हुने संस्थागत विद्यालयमा इटहरीका ६ हजार बढी गरिब विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका हुन् । 

निजीमा निःशुल्क पढ्न पाउने व्यवस्था भइरहेको बेला सरकारी विद्यालयले भने अङ्ग्रेजी माध्यमबाट पढाउने बहानामा चर्को शुल्क लिएको गुनासो बढ्न थालेको छ । विद्यार्थीको ड्रेस लगायत बस्तु खरिद गर्न लगाउने प्रावधान सरकारी विद्यालयले राखेका छन् । गरिब र जेहेन्दार भन्दा पनि सोर्सफोर्सको आधारमा विद्यार्थी छनौट गर्ने गुनासो अभिभावकको छ ।

school-notice