धरान : नेपाल सरकारको संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साहित्य र राजनीतिक दर्शनका चार जना स्रष्टालाई वीपी कोइराला राष्ट्रिय पुरस्कार-२०८९ प्रदान गर्ने बुधवार घोषणा गरेको छ ।
पुरस्कृत स्रष्टाहरूमा धरानका गिरिराज आचार्य र स्याङ्जाका देवीप्रसाद उपाध्यायलाई साहित्यिक विधामा संयुक्त पुरस्कृत गरिने मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तीमा जनाइएको छ । दुई लाख रुपैयाँको पुरस्कार संयुक्त रूपमा प्रदान गरिँदा १/१ लाख रूपमा रहने सूचनामा उल्लेख छ ।
यसैगरी राजनीतिक दर्शनको विधामा पुरस्कृत स्रष्टाद्वयमा इलामका कुलबहादुर गुरुङ (केबी गुरुङ) र अर्घाखाँचीका ढुण्डिराज पौडेल छन् । उक्त पुरस्कार पनि संयुक्त रूपमा प्रदान गरिने छ ।
पुरस्कृत स्रष्टाहरू चारै जना सङ्घीय राजधानी बाहिरका हुन् । पुरस्कारका लागि सिफारिस भएकाहरू मध्येबाट संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको मन्त्री स्तरीय निर्णयबाट पुरस्कृत स्रष्टाहरूको चयन भएको विज्ञप्तीमा उल्लेख छ ।
mantralaya-puraskar