धरान : डेङ्गु महामारी नियन्त्रण तथा रोकथामको लागी धरान वडा १३ कार्यालयको सभा हलमा सञ्चालित उपचार शिविरमा अहिले सम्म २०५ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । शिविर साउन १५ गते देखी सुरु गरिएको हो ।
वडा अध्यक्ष नेत्र काफ्लेका अनुसार डेङ्गु महामारीले बिरामीको चाप अत्यधिक भएकाले १३ नम्बर वडावासीका लागि उपचारमा सहज सुविधा प्रदान गर्न वडाको बाल सञ्जाल भवनमा अस्थायी निःशुल्क उपचार शिविर सञ्चालन गरिएको हो ।
उनले भने ‘शिविरमा  दैनिक ७० देखि ८० जना आइरहेका छन् ।’ अहिले सम्म उपचार कक्षमा सेवा लिनेहरूको सङ्ख्या २०५ पुगेको छ । आज शनिवार मात्रै ७८ जना उपचारका लागि आएको अध्यक्ष काफ्लेले बताए । 
शिविरबाट उपचार भन्दा बढी निःशुल्क औषधी वितरण धेरै गरिएको उनले बताए । शिविर वडा १३  वडावासीकालागि मात्र सञ्चालन गरेको भए पनि अन्य वडाबाट पनि बिरामी आउने गरेका छन् ।
आँखा पाक्ने रोग आएपछि हाल आँखा शिविर समेत सञ्चालन गरिएको वडाध्यक्ष काफ्लेले बताए । आँखा उपचारका लागि धरान ८ स्थित खुसी आँखा अस्पतालले बिहान १० देखि साँझ ५ बजे सम्म आँखा शिविर सञ्चालन गरेको हो । 
वडा कार्यालय सञ्चालन गरेको निःशुल्क शिविर र आँखा उपचार समेत डेङ्गु महामारी नियन्त्रण नभए सम्म सञ्चालन गरिने वडाध्यक्ष काफ्लेले बताए ।