• भीषण राई

चतरा : बराहक्षेत्र वडा १  जलकन्या सामुदायिक वनमा उहिले देखि देखिँदै आएको इँटाले बनेको पुरानो भवनको भग्नावशेष हिन्दुपति राजाको दरवार भएको विश्वास स्थानीय समुदायले प्रकट गरेका छन् ।

करिब २ सय बिघामा फैलिएको बन क्षेत्रमा एउटा दरबारको भग्नावशेष छ  । उक्त भग्नावशेष हिन्दुपति दरबार भएको विश्वासका कारण त्यो क्षेत्र नै हिन्दुपति दरवार क्षेत्रको नामले परिचित छ।

भग्नावशेषको रूपमा त्यहाँ पकाएको इँटा, आकार मिलेका ढुङ्गा, पुराना तामा पैसा, विशाल आँप बगैँचा, ढुङ्गे पर्खाल, शिव मूर्ति र प्रस्तरको ओख्ली देखिन्छन् । माटोको भाँडा र प्राचीन ढुङ्गाको पाटी पनि देखिन्छ ।

स्थानीयका अनुसार केही वर्षअघि त्यहाँ पाँच फुट अग्ला पर्खाल, तोपका गोला र साना तोप पनि थियो ।

हात्ती बाँध्ने फलामको साङ्लो, रातो र कलेजी रङ्गको प्वाँलोको माला अहिले हराइसकेको उनीहरू बताउँछन् । झिँगटी घर बनाउँदा प्रयोग हुने खपटा अझै भेटिने उनीहरू दाबी गर्छन् ।

पछिल्लो समय भग्नावशेष अवलोकन गर्नेहरूको सङ्ख्या बढेको छ । इतिहास र पर्यटनमा चासो राख्नेहरूको लागि भग्नावशेष क्षेत्र अध्ययनको विषय बनेको छ ।

त्यही चासोको कारण स्थानीय स्कुले विद्यार्थी हिन्दुपति दरबार क्षेत्र पुग्न थालेका छन् । शनिवार एक हुल विद्यार्थी दरबार क्षेत्रमा भेटिए ।  उनीहरूलाई  स्कुलका शिक्षकहरूले त्यहाँ अध्ययन अवलोकन गराएका हुन ।

आईरिस बराह एकेडेमीका सञ्चालक वानकुमार राई विद्यार्थीको बौद्धिक विकासको लागि सामाजिक शिक्षाको पाठ ऐतिहासिक सम्पदाको अवलोकन गराउन विद्यार्थी ल्याएको बताउँछन् । उनले भने "बराहक्षेत्र नगरमा पुरातात्त्विक र ऐतिहासिक धरोहर कस्ता छन् उनीहरू बारे साक्षात्कार गराउन विद्यार्थीलाई अवलोकन गराइएको हो ।"

विद्यार्थीका लागि मात्र नभै इतिहास र पुरातत्त्वमा रुचि राख्नेहरूका लागि दरबारको अवस्था कस्तो रहेछ भन्ने जिज्ञासाले त्यसतर्फ तानेको छ।

यहाँ पुगेपछि जङ्गलै भरी इँटाका टुक्राहरू देख्न सकिन्छ। यस बाहेक फलामको धाउ, शिक्षा पाटी, तारो हान्ने ढुङ्गा, सेन्टृई बस्ने ठाउँ अहिले पनि विद्यार्थीले प्रत्यक्ष देख्न सक्छन् ।  विशेष गरी शनिवार यहाँ आउनेको सङ्ख्या बढ्दो छ।

हिन्दुपति दरबार बारे जानकारी पाउँदा आफूहरूलाई खुसी लागेको विद्यार्थी सरस्वती राई बताइन् ।

चतरा बजारस्थित मदन भण्डारी राजमार्ग स्थित छिन्नमस्ता मन्दिर देखि उत्तरतर्फ एक किलोमिटर ठाडो उकालो उक्लिए पछि यो दरबार पुग्न सकिन्छ । मिलन चोकको बाटो हुँदै पुगिने फूलबारी गाउँबाट चार सय मिटर ओरालो झरेर यहाँ पुगिन्छ ।

भग्नावशेष स्थलको  अहिलेसम्म संरक्षण हुन सकेको छैन । सरकारले ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रको सिमाङ्कन गरी गुरुयोजना बनाएर संरक्षण गर्नुपर्ने आवश्यकता रहेको चतरा हाइकर्सका सदस्यहरू बताउँछन् ।

चतरा हाइकिङ समूहले पटक-पटक यो स्थानबारे जनमानसमा जानकारी गराएपछि अहिले हिन्दुपति दरबारमा सबैको चासो बढ्दै गएको छ ।

बराहक्षेत्र वडा १ कार्यालयले हिन्दुपति दरबारप्रति चासो देखाउन सुरु गरेको छ। वडाले आगामी दिनमा गुरु योजना बनाउन लागेको वडा अध्यक्ष किसन थापा बताउँछन् ।

उनले भने "प्रारम्भिक चरणमा चाडै त्यहाँ पुग्न सहज होस् भनेर दिशानिर्देश बोर्ड राख्न लागिएका छौं ।" हिन्दुपति दरबारको पर्यटकीय विकासका लागि वडा गुरु योजना बनाउन जुटेको उनले बताए ।

hindupati-darbar-2 1