धरान : धरानमा देखा परेको धार्मिक, सांस्कृतिक विवादका विषयहरूलाई सर्वपक्षीय सर्वदलीय वार्ता र संवादको माध्यमबाट समाधान गर्न धरानमा रहेका १३ दलका नेतृत्वहरूले प्रतिबद्धता व्यक्त गर्दै धरानवासीलाई सामाजिक सद्भाव तथा शान्ति सुरक्षा र जातीय सद्भाव कायम गर्न आव्हान गरेका छन् ।
पानी झरीका बिच आज शुक्रवार धरानमा भएको नागरिक सद्भाव र्‍यालीपछि भानुचौक घण्टाघरमा आयोजित पत्रकार सम्मेलनमा दलहरूले संवादबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै धरानमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्न अपिल गरेका हुन् ।
यसअघि धरान-१ छाताचौक स्थित पुरानो अस्पतालबाट निस्किएको नागरिक सद्भाव र्‍याली भानुचौक पुगेर कोणसभामा परिणत भएको थियो । र्‍याली नागरिक अगुवाहरू धरान उपमहानगरपालिकाका पूर्व मेयर, उपमेयरहरूद्वारा आव्हान गरिएको हो ।
बिहानैदेखि वर्षा झरी जारी रहेपनि सद्भाव प्रदर्शन गर्न छाता ओढेर भएपनि उल्लेख्य सङ्ख्यामा नगरवासी सहभागी भएका थिए । र्‍याली मा राजनीतिक दलका स्थानीय नेतृत्वहरू पनि सहभागी थिए ।
र्‍याली समापन लगत्तै सर्वदलीय निर्णय अनुसार दलका स्थानीय नेताहरूले विज्ञप्ति जारी गर्दै संवादबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन ।
संयुक्त वक्तव्यमा भनिएको छ ‘धरानमा देखा परेको धार्मिक, सांस्कृतिक विवादका विषयहरूलाई सर्वपक्षीय सर्वदलीय वार्ता संवादको माध्यमद्वारा समाधान गर्न हामी प्रतिबद्ध छौ ।’
केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले धरानवासी बिच रही आएको सद्भाव, सहिष्णुता वातावरण बिथोलिने आशङ्का उत्पन्न भएकोले सम्पूर्ण धरानेलाई  चिन्तित बनाएको विज्ञप्तिमा उल्लेख छ ।
बहुलतायुक्त विशेषतालाई आत्मसात् गर्दै सबै जाति, धर्म समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गरी सामाजिक द्वेष बढाउने, आस्था भावनामा ठेस पुराउने गतिविधि नगर्न दलहरूले आग्रह गरेका छन् ।
परिस्थितिको गाम्भिरतालाई मनन गर्दै सामाजिक सञ्जाल लगायतबाट सामाजिक सद्भाव खलबलिने सामाग्रीहरू पोस्ट शेयर तथा कमेन्ट नगरिदिन सबैमा हार्दिक अपिल समेत गरिएको छ ।
वक्तव्यमा हस्ताक्षर गर्ने दलहरूमा नेकपा एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेस धरान सभापति श्याम पोख्रेल, नेकपा माओबादी केन्द्र धरान अध्यक्ष सूर्यबहादुर भट्टराई, जसपा नेपाल धरान अध्यक्ष ताजुब लिम्बु छन् ।
साथै रास्वपा धरान संयोजक राजेशमान श्रेष्ठ, नेकपा एस अध्यक्ष रेवतीरमण राई, नेससपा प्रदेश इन्चार्ज दिनेश राई हाङछा, संयुक्त लोकतान्त्रिक लिम्बुवान पार्टीका इन्चार्ज भूपेन्द्र सुन्दर लावती, नागरिक उन्मुक्ति पार्टी एकीकृतका उपाध्यक्ष पदम खेवाहाङ, राप्रपा धरानका सचिव तिलक मगरले वक्तव्यमा हस्ताक्षर गरेका छन् ।
यस्तै किखसपा केन्द्रीय अध्यक्ष भूपी कोयी, विवेकशील साझा पाटीका केन्द्रीय सदस्य सुदनकुमार श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय उपमहासचिव विष्णु थाम्देन वक्तव्यमा हस्ताक्षर गरेका छन् ।
sarbadaliya ryali 2