धरान : धरानमा फैलिएको डेङ्गु महामारी नियन्त्रणका बारेमा छलफल गर्न आएका विज्ञान प्रविधि तथा शिक्षा मन्त्री अशोक राईले डेङ्गुले आक्रान्त धरानमा त्यो भन्दा पनि खतरा असामाजिक प्रकोप फैलन खोजेकामा आफू चिन्तित भएका बताएका छन् ।

उनले भने ‘डेंगु प्रकोप मानिसको अज्ञानता र अक्षमताले फैलिएको हो तर, धरान फैलन खोजेको मानव निर्मित प्रकोपले आपसी प्रेम, सद्भावमा घृणा फैल्याउने खतरा बढेको छ ।’ घृणा भनेको आगो हो, त्यसले सबैलाई जलाएर खरानी बनाउने उनले बताए ।

मन्त्री राईले प्रेम भनेको पानी हो र पानीले  समाज सृष्टि गर्ने भएकोले घृणाको आगो प्रसार नगरौँ आदर पूर्वक सम्झाउँदै चित्त बुझाई, घृणालाई त्याग्दै प्रेम र सद्भाव कायम राख्न आग्रह गरे । उनले भने ‘समाजलाई जोडेर दीर्घकालीन समाधान खोजौँ ।’

सुनसरी-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राईको आफ्नो चुनाव क्षेत्र धरानमा पर्सी भदौ ९ गते एक पक्षले गर्ने प्रदर्शनको अर्को पक्षले प्रतिकार गर्ने हल्ला चलेकाले उनी चिन्तित भएका हुन । सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा आज बिहीबार भएको कार्यक्रममा उनले छुट्टै समय लिएर धरानमा धार्मिक, सांस्कृतिक सद्भाव यथावत् राख्न सबै पक्षलाई अपिल गरे ।

उनले भने ‘धरानमा अनावश्यक सामाजिक सद्भाव खलबलिने किसिमको अनुत्तरदायी काम हुन खोजिरहेकोले जातीय, धार्मिक सद्भाव बिग्रने वातावरणलाई संयमता अपनाउन सबै पक्षसँग मेरो आग्रह छ ।’

पछिल्लो समय धरानमा भएका गतिविधिप्रति कटाक्ष गर्ने उनले असामाजिक तत्त्वले ‘नदुखेको कपाल चोयाले बाँधेर दुखाउन खोजेको’ खोजेको जस्तो देखिएको बताए । सम्बद्ध पक्षसँग उनले भने ‘आँखा चिम्लेर छाती माथि हात राखेर विवेकलाई काम गर्न दिएर सोचेर अगाडी बढ्नु जरुरी छ ।’

मन्त्री राईले मुलुक लोकतान्त्रिक गणतन्त्र देश भएकाले लोकतन्त्रमा अधिकार प्राप्तिका लागि विरोध र समर्थन जनाउने व्यवस्था रहेको उल्लेख गर्दै भने ‘अधिकारको कुरा गर्दा एक अर्काका अधिकारमा क्षति नहुने गरी संयमता धैर्यता र विवेकलाई कहिल्यै कुल्चन हुँदैन ।’

समाजलाई जोड्दै तर नतोडी अग्रसर बनाई सबै प्रति सद्भाव राख्नु पर्नेमा जोड दिदैं उनले भने ‘लोकतन्त्रमा राजनैतिक, सांस्कृतिक अधिकार, पहिचान प्राप्तिको अधिकार भएकाले घृणा बिस्तार गर्न नभै लोकतान्त्रिक विधिबाट भावना अभिव्यक्त गरेर विधि पद्धतिबाट अगाडी बढियो भने आफ्नो अधिकार प्राप्तिको लडाई बलियो र सुव्यवस्थित ,सबल बनाउन सकिने र लक्ष्यमा पुग्न सकिन्छ ।’

एक अर्कामा पाखुरा सुर्कन तिर नलाग्न आग्रह गर्दे अन्यायमा परेको महसुस भए न्यायालयमा न्याय माग्न सकिने ठाउँ पनि रहेको उनले बताए । उनले भने ‘स्थानीय तहका नेताहरू वा चुनेर पठाएका नेताले न्याय दिएनन् भने प्रदेश तथा सङ्घ जाने ठाउँ पनि छ ।’

उनले नेपाली सामाजिक सांस्कृतिक समानतालाई उच्च मुल्याङकन गर्दे अरूको भावनामा चोट नपुग्ने गरी अधिकार प्राप्तिको लडाई बलियो बनाउन आधारपूर्ण कार्य गरी आपसी घृणालाई त्याग आग्रह गरे ।

मन्त्री राईले भने ‘अधिकारको कुरा गर्दा अहम् र भावावेशमा आएपछि अहङ्कार, आक्रोशले विवेकलाई कुल्चने थिच्ने भएकाले मानवीयता नभै पाशविकताको अवस्थामा पुगिन्छ ।’ मानवीय चेतबाट पाशविक अवस्थामा आएपछि अकल्पनीय क्षतिको अवस्थामा पुर्‍याएर खरानी हुइने र अकल्पनीय क्षति पश्चात् रोएर नहुने बताए ।