धरान : नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिन देखी धरानमा धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने अवस्था सिर्जना भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

काँग्रेस केन्द्रीय कार्यालयबाट आज शनिवार एक वक्तव्य जारी गर्दै सभापति देउवाले धरानवासीलाई सामाजिक, धार्मिक, राजनैतिक समग्र क्षेत्रमा सद्भावना कायम राख्न अपिल गरेका छन् ।

अपिलमा भनिएको छ ‘परापूर्व कालदेखि विभिन्न जात जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइन व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आआफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन ।’

धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैका लागि पनि हितकर नहुने कुला उल्लेख गर्दै अपिलमा भनिएको छ ‘धार्मिक, सामाजिक तथा राजनैतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य–अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छै ।’

यस्तो ‘संवेदनशील विषयमा राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक सङ्घ, संस्था एवं समाजका अग्रज व्यक्तिहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदाय बिच आपसी एकता र सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न’ वक्तव्य मार्फत अपिल गरिएको छ ।

ser-PR