धरान : १९ औँ एसियाली खेलकुद प्रतियोगिताको गल्फमा नेपाल निराशाजनक प्रदर्शन गरेको छ । प्रतियोगितामा क्रिकेट खेलाडीहरूले विश्व कीर्तिमान बनाएर नेपाललाई चर्चामा ल्यायो । पदकमा भने नेपालले हासिल गर्न सकेन ।

गल्फमा पनि त्यस्तै अवस्था भयो । प्रतियोगितामा नेपाल बाह्रौँ स्थानमा रहे पनि गल्फरहरु भने आशावादी भएर फर्किएका छन् । उनीहरूले अर्को एशियाडमा पदक हासिल गर्ने अनुभव लिएर फर्किएको बताए । १९औँ एसियाली खेलकुद प्रतियोगिता चीनको हाउङ्झाउमा जारी छ ।

एसियाली गल्फमा नेपालबाट गएका ६ जना खेलाडीहरू मध्ये २ जना धरानका हुन । प्रोफेसनल गल्फर  शुक्रबहादुर राई र एमेच्योर युवराज भुजेल हाङझाउमा गल्फ खेलेर फर्किसकेका छन् । शुक्र नेपालको पहिलो नम्बरका प्रोफेसनल गल्फ हुन । युवराज एमेच्योरमा तेस्रो श्रेणीका खेलाडी हुन ।

गल्फमा नेपाल पदक विहीन रहे पनि खेलाडीहरू भने आशावादी भएर फर्किएको उनले गल्फर शुक्रले बताए । उनले भने ‘यसपालि पदक विहीन भएर फर्कनु परे पनि आगामी संस्करणमा पदक जित्ने सम्भावना देखेका छौँ ।’

यसपालि राज्यले खेलाडीहरूलाई राम्रो सुविधा दिएको कारण पनि प्रदर्शन सुधार भएको उनले बताए । यो पटक सरकारले राम्रो फेसिलिटी दिएकोले सन् २०१८ को भन्दा राम्रो प्रदर्शन भएको शुक्रले दाबी गरे । उनले भने ‘यसपालि जस्तै फेसिलिटी र प्रशिक्षण भयो, अर्को ४ वर्षमा हुने एसियन गेममा पदम जित्ने सम्भावना हुन्छ ।’

एसियाली खेलकुदमा एसियाको मात्र होइन, विश्वका उत्कृष्ट सयको सुचीमा रहेका खेलाडीहरू पनि थिए । त्यसैले नेपालका युवा खेलाडीहरूलाई अनुभव बटुल्ने अवसर भएको उनले बताए । शुक्रले भने गल्फमा यस पटक नेपाल १२ औँ स्थानमा रह्यो ।’

सन २०१८ को एसियाली खेलकुदमा पनि शुक्र सहभागी थिए । त्यस बेला उनीसँग अनुभव काम थियो । यो चार वर्षमा उनी एमेच्योरबाट प्रोफेसनल खेलाडी हुँदै नेपालको नम्बर वान खेलाडी बने ।

यसपालि एसियाली गल्फमा शुक्रले मात्र २ दिनको खेल समाप्तिपछि कट जोगाउन सफल भएका थिए । उनले भने ‘तर तेस्रो दिन १२ होल खेलेपछि स्वास्थ्यले साथ दिएन, खेलबाट बाहिरिनु पर्‍यो ।’

शुक्रले हाङझाउ जानुअघि २ महिना जर्मनीमा प्रशिक्षण लिएका थिए । भारतमा २ वटा प्रतियोगिता खेलेपछि एसियन गेम्स खेल्न चीन गएका हुन ।

युवराजले पनि हाङझाउ जानुअघि भारतको बैंङलोरमा प्रशिक्षण लिएका थिए । एसियन गेममा उनी पहिलो पटक सहभागी भएका हुन । गल्फको टुर, प्रतियोगिताहरू जति धेरै भयो, खेलाडीहरूलाई धेरै अनुभव हुने उनी बताउँछन् ।

asian gulf