विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालयले आज शुक्रवार ६८ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरी कुल १०६ पिन्ट रगत सङ्कलन गरेको छ ।

रक्तदान गर्नेहरूका नेपाल प्रहरीका ५९ जना, नेपाली सेनाका ४ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना र ३० जना सर्वसाधारण गरी कुल १०६ जनाले रक्तदान गरेका हुन ।

रक्तदानमा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की थिइन् । उपमेयरले बैण्ड डिस्प्लेको शुभारम्भ गरेपछि कोशी प्रदेश प्रहरी कार्यालयको बैण्ड टोलीले राष्ट्रिय भावहरू झल्किने धुनहरू बजाएर बैण्ड प्रदर्शनी गरेको थियो ।

उपमेयर कार्कीले पहिलो रक्तदाता कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोला, कोशी प्रदेश वरिष्ठ उपरीक्षक जयराज सापकोटाको उपस्थिति थियो ।

रक्तदान कार्यक्रम नेपाल प्रहरी अस्पताल बेलबारी र नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको हो । खुल्ला रक्तदान विराटनगर-९ ट्राफिक चोकमा भएको हो ।