धरान : उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले मेयर हर्क साम्पाङलाई दिएको सुझावको मूल्याङ्कन समेत नगरेकोले कार्यपालिका बैठकमा टकराब हुने गरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र धरानको आज शुक्रवार आयोजित दशैं सहितका चाडपर्वको शुभकामना कार्यकामा उनले भने ‘चुनाव जितेर गएपछि मेयर साम्पाङसँग भएको पहिलो छलफलमै आफूले मेयरलाई कार्यपालिकाको बैठकको एजेण्डा तय गर्नु अघि मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित छलफल गर्न सुझाव दिएको थिएँ ।’

तर मेयर साम्पाङले सुझावलाई मुल्याङकन नगरी कहिले काहीँ एकलौटी एजेण्डा लैजाने गरेकाले वडाध्यक्ष, कार्यपालिका सदस्यहरूसँग टकराब उत्पन्न हुने गरेको उनले बताए ।

एजेण्डा तय भएपछि देश दलिय सहभागितामा रहेकोले दलिय प्रतिनिधि नेताहरू समेत बोलाएर एजेन्डामा राय लिएर कार्यपालिका बैठकमा लैजाने सुझाव समेत मेयर साम्पाङलाई दिएको उनको भनाई छ ।

मेयर साम्पाङलाई इङ्गित गर्दै उपमेयर बेघाले भने ‘मन कुँड्याएर, धमिलो बनाएर कड्किएर ढुस्सिएर  समाज र नगर बन्दैन, एक्लो प्रयासले दुनियाँ नचल्ने र चलाउने प्रयत्न पनि गर्न नहुने, परिमाण शून्य मात्र आउँछ ।’

उनले विकासका लागी मेयर साम्पाङको राम्रो र असल कामलाई सहयोग पुर्याउदै सकारात्मक भूमिका निर्वाह गर्दै आफ्नो दायित्व र जिम्मेवारीप्रति आफू प्रतिबद्ध रहेको बताए ।

राजनैतिक दलको तर्फबाट जसपा धरानका अध्यक्ष ताजुव लिम्बुले भने ‘धरानको विकासका लागि सम्पूर्ण राजनैतिक दल एक भएर एउटै स्टेजमा उभिएर धरान बनाउने अभियानमा उभिएको छ ।’ धरान सबै भन्दा बढी विवादित सहरको रूपमा परिचित हुँदै गएको कारण राजनैतिक दल एकै धारमा उभिनु पर्ने अवस्था आएको उनको भनाई थियो ।

नेकपा माओवादी धरान अध्यक्ष मनोज भट्टराईले धरानको विकास, निर्माण छोडेर धरानको सामाजिक सद्भाव बिथोलिने अवस्थामा पुगेको भएता पनि सामाजिक र धार्मिक सहिष्णुता कायम राख्दै चाडपर्व मनाउँदै अगाडी बढ्नु पर्ने बताए ।

तिन महिने अभियान धरान इन्चार्ज अजम्बर काङमाङले राजनैतिक दल सच्चिएर अगाडि बढ्दै जनता बिच जानु अपरिहार्य रहेको बताए । उनले भने ‘धरान आदिवासी जनजातिको सहर रहेकाले खानपानमा ध्यान दिँदै घाटी हेरेर खर्च गर्न जाड रक्सीको कम प्रयोग गर्न आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय मुक्साहाङ मेन्याङवो, उमिता बराइली, प्रदेश सदस्य प्रताप प्रकाश ल्वागुन, नेपाली काँग्रेसका नगर सभापति, श्याम पोखरेल, नेकपा एमालेका नगर सभापति हर्कजङ्ग एभेङ, धरान वडा १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराई, धरान १६ का अध्यक्ष मुरारी भट्टराई, नेकपा माओवादी केन्द्र धरान सह इन्चार्ज सुदर्शन श्रेष्ठ लगायतको उपस्थिति थियो ।

nekapa-shubhakamana 1