धरान : उपमहानगरपालिकाको बुधवार बोलाइएको कार्यपालिका बैठकमा कोही पनि कार्यपालिका सदस्यहरू उपस्थित नभएपछि मेयर हर्क साम्पाङ एक्लै परे । 
उपमेयर अइन्द्रबिक्रम बेघा ढिला गरी बैठकमा सहभागी हुन आए पनि २९ जनै कार्यपालिका सदस्यहरू उपस्थित नभएपछि बैठकमा बस्न सकेन ।
मेयर साम्पाङले बैठक बोलाउने आफ्नो एजेण्डा राख्ने र त्यसलाई थपडी बजाएर पास नगरे कुनै निर्णय बिना बैठक आफै स्थगित गर्ने गरेकाले त्यसको विरोधमा वडाध्यक्ष, कार्यपालिका सदस्यहरू अनुपस्थित भएको नगरपालिकाका प्रवक्ता वडा-१७ का अध्यक्ष मनोज भट्टराईले बताएका छन् ।
उनले कपुरीलाई भने ‘मेयर साम्पाङले सनकको भरमा बैठक स्थगित गरेकोले विरोधमा अनुपस्थित भएका हौँ, मेयरले जा भन्दा जाने आइज भन्दा आउने हामी होइनौ ।’
जनताको कामप्रति सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्यहरू जिम्मेवार ढङ्गले लागि परेका छन् । कार्यपालिका बैठक नहुँदा केही निर्णय नभएर जनतालाई दुःख र असर पुगे स्वयं मेयर जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।
एमाले संसदीय दलका नेता वडा १५ का अध्यक्ष नरेश ईवरामले भने कार्यपालिका बैठकमा राणा शासन लाद्दै निर्णय गर्न खोजेको र लोकतान्त्रिक पद्धति अनुसार कार्यपालिका सदस्यहरूलाई छलफल बहस गर्न नदिएकोले त्यसको विरोधमा अनुपस्थित भएको बताए ।उनले भने ‘अघिल्लो अति आवश्यक कार्यपालिका बैठक मेयर साम्पाङले सनकको भरमा स्थगित गरे ।’ आजको कार्यपालिकाका बैठक अचानक बोलाइएको कारण कार्यपालिका सदस्यहरूको समय अनुकूल नहुँदा र वडाको काममा व्यस्त भएर बैठकमा उपस्थित नभएको उनको भनाई छ ।
वडा १८ का अध्यक्ष नरेन्द्र कुमार राई (प्रवीण)ले कार्यपालिका बैठक बसी जनताको कार्य गर्न आफू आतुर भएको बताउँदै भने ‘तर बैठक बस्न समन्वय नहुँदा उपस्थित हुन सकिएन ।
उपमेयर अईन्द्र विक्रम बेघाले भने ‘काम विशेषले धरान बाहिर गएकाले बैठकमा आउन ढिला भयो ।’ आफू आइपुग्दा कार्यपालिका बैठक नबसेको थाहा पाएको उनको भनाई छ ।
मेयर साम्पाङले भने ‘वडा अध्यक्षहरूलाई बोकेर ल्याउन नमिल्ने अव चामल लडाउँछु जोखना हेर्छु अनि आफूलाई कहिले मन लाग्छ तहिले बैठक बोलाउँछु ।’ नयाँ रोग नभएकाले आफूले वास्ता नगरेको र समय अभावको कारण बिचमा छलफल समन्वय नभएको मेयर साम्पाङले बताए ।
मेयर साम्पाङले भने ‘म चौबिसै घण्टा जनताको काममा रहने गरेकाले वडा अध्यक्षहरू सँग मेरो लेभल (स्तर) नमिलेकोले पनि सहकार्य गर्न र बैठक बस्न नसकिएको हो ।’