धरान : मेयर हर्क साम्पाङले घण्टाघरका कर्मचारीलाई एक महिनाको तलब दिएर निकाल्ने प्रस्ताव ल्याएपछि वडा अध्यक्षहरूले विरोध गर्दा आज बुधवार बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित गरेका छन् ।

बैठकमा मुख्य एजेन्डा निष्कासन भएका २२ जना कर्मचारी सहित घण्टाघरमा कार्यरत कर्मचारीलाई ट्रेड युनियन मजदुर सङ्गठनहरू भएको सम्झौता अनुसार उपदान दिने विषयमा निर्णय गर्न प्रस्ताव गरिएको थियो ।

उक्त एजेन्डामा छलफल हुँदा वडाध्यक्षहरूको राय सुझाव अस्वीकार गर्दै मेयर साम्पाङले उपमहानगरपालिका घण्टाघर जिम्मा लिएको १ वर्ष मात्रै भएकोले कार्यरत कर्मचारी नरबहादुर लिम्बु र प्रकाश राईलाई १ महिनाको तलब दिएर निष्कासित गर्ने अडान लिएपछि वडाध्यक्षहरूले त्यसको विराधे गर्दै मेयरको एकल निर्णय अस्वीकार्य भएको जनाएका थिए ।

मेयर साम्पाङले कर्मचारी उपमहानगरपालिकाको मत हतमा चल्ने, सरुवा, बढुवा मेयर र प्रमुख प्रशासकीय अधिकृतले गर्ने त्यसमा वडाध्यक्षहरूको कुनै हस्तक्षेप हुन नहुने बताउँदै हस्तक्षेप गर्न चाहे मेयर भएर आउन चुनौती समेत दिए ।

आफूलाई अन्तर्राष्ट्रिय स्तरबाट सम्मान भएको तर कार्यपालिका सदस्य, वडाध्यक्षले साथ नदिएको र आफ्नो प्रयोजनको लागि गाडी दिएकाले आफ्नो खुसी गर्न पाउने बताउँदै भने ‘ईष्या र डाहा लागे अख्तियारमा मुद्दा लगाउनु ।’ त्यति भन्दै मेयर साम्पाङले कार्यपालिका बैठक स्थगित गरे ।

यसअघि वडा २ का अध्यक्ष रमेश राईले अरू कर्मचारीको बारेमा ठिकै छ तर घण्टाघरका कर्मचारीलाई १ वर्ष पुर्नवाहाली गरेर पछि सोझै १ वर्षपछि उपदानको व्यवस्था गरिनु पर्ने बताएका थिए । उनको प्रस्तावलाई कार्यपालिका बैठकमा सबैले ताली बजाएर समर्थन गरेका थिए । वडा १५ का अध्यक्ष नरेश इङवारमले भने ‘यसै प्रस्तावमा निर्णय गरौँ ।’

प्रवक्ता वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराईले बोल्ने क्रममा मेयर साम्पाङले हस्तक्षेप गर्दै बोल्न नदिँदा चर्काचर्की पर्‍यो । भट्टराईले कार्यवाहक अध्यक्ष मनिष बिस्टलाई दिएको उल्लेख गर्दै मेयर साम्पाङले भट्टराईको हैसियतमै प्रश्न उठाउँदै उनलाई अवैधानिक अध्यक्ष भनेपछि चर्काचर्की परेको हो ।

अध्यक्ष भट्टराईले आफू जनताको काम गर्न इनरुवा गएकोले बैठकमा आउन अलि ढिला भएको बताउँदै आफू वडा देखि बाहिर जाँदा जनताको सुविधाका लागि वडामा कार्य गर्न वडा सदस्य मनिष बिस्टलाई कार्यवाहक अध्यक्ष दिएको स्पष्ट गरे ।

धरान उपमहानगरपालिकाको प्रवक्ता समेत रहेका अध्यक्ष भट्टराईले घण्टाघरमा कर्मचारीको म्याद थप्नु पर्ने बताए । वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले घण्टाघरमा कार्यरत कर्मचारीलाई उमेर हद लगाएर निष्कासन गर्न नहुने बताउँदै भने ‘उनीहरूलाई थप हौसला प्रदान गरी काम गर्न दिनु पर्छ ।’

वडा १० का अध्यक्ष विवेक राईले मेयर साम्पाङले मनपरी कर्मचारी सरुवा गरेको र महिनै पिच्छे प्रशासकीय अधिकृत एकलौटी रूपमा परिवर्तन गरेको र वडाको लेखा कर्मचारी पनि विना कारण आफू खुसी परिवर्तन गरेकोमा आपत्ति जनाए । उनले वडामा पुरानै कर्मचारीलाई  पठाउन र अन्य कर्मचारी पठाए वडामा हाजिर गर्न नदिने भन्दै मेयर साम्पाङलाई चुनौती दिएका थिए ।

वडा १५ का अध्यक्ष ईवरामले संविधानको मूल्य मान्यता अनुसार कार्यपालिका बैठक नबोलाएको ध्यानाकर्षण गराउँदै ३ महिनापछि बैठक बोलाउनु स्थानीय सरकार ऐन सञ्चालन २०७४ को उल्लङ्घन भएको बताए । कार्यपालिका कार्यविधि भित्र रहेर बैठक बस्न सबै कार्यपालिका सदस्य र वडाध्यक्ष  तयार रहेको बताउँदै उनले मेयरले वडाध्यक्षको बोल्ने क्रममा हस्तक्षेप गरेकोप्रति आपत्ति जनाउँदै भने ‘लोकतन्त्रमा सबैले बोल्न पाउने अधिकार छ ।’

यसअघि बैठकमा मेयर साम्पाङले घण्टाघरका कर्मचारी निकाल्ने आफ्नो निर्णय सदर हुनुपर्ने अडान लिँदै घण्टाघर स्थापना भएको २२ वर्ष देखिको रकम नदेखाएको र ‘पूर्व मेयर हो कि के हो’ उसले घण्टाघर सञ्चालन गरेको र १७ वर्ष देखि कार्यरत कर्मचारीलाई त्यही समितिले व्यवस्था गर्नुपर्ने बताएका थिए ।

उनको भनाई थियो ‘म आफू निर्वाचित भएपछि २०७९ मङ्सिर १ गते घण्टाघरको स्वामित्व र सञ्चालनको दायित्व उपमहानगरपालिका कार्यालयले लिएको हो, त्यसैले उपमहानगरपालिका १ वर्ष देखिको मात्रै नर बहादुर लिम्बु र प्रकाश राईलाई जिम्मा लिएर १ महिनाको तलब दिएर निष्कासित गरिनु पर्छ ।’

कर्मचारीलाई अवकाश दिने एजेन्डामा उमेरको हदबन्दीले अवकाश दिने कर्मचारीहरूको हकमा ५ वर्ष काम गरेकालाई केही उपदान नदिने, ५ देखि १० वर्ष  काम गरेकालाई १ महिनाको तलब दिने, १० देखि १५ वर्ष काम गरेकालाई २ महिना तलब उपदान दिने र १५ वर्षदेखि माथि कार्य गरेका ३ महिनाको तलब दिने प्रस्ताव गरिएको थियो ।

असोज १५ गते स्थगित भएको बैठक आज बुधवार भएको उक्त प्रस्ताव माथिको छलफल नटुङगीई मेयर हर्क साम्पाङले पुनः कार्यपालिका बैठक स्थगित गरेका हुन ।

बैठक स्थगित भएपछि वडा १७ अध्यक्ष भट्टराईले धराने जनताले चाहेको मेयर भएकाले अव जनता नसच्चिए सम्म धरान पछि पर्ने बताए । उनले भने ‘अव चाडै धरानमा उपनिर्वाचन हुने र जनताले सही नेतृत्व छनौट गर्नु पर्ने दिन आउने भएको छ ।’