धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक विकास, निर्माणका कुरामा भन्दा फेसबुकको कुरामा केन्द्रित हुँदै जाने सम्भावना बढेको छ । ३ महिना पछि सोमवार बसेको बैठक एजेण्डामा प्रवेशै नगरी अधिकांश समय फेसबुकैमा केन्द्रित रहँदा एजेन्डा नसकी स्थगित भएको थियो ।

मेयर हर्क साम्पाङले फेसबुकमा दिनमा दर्जनौं स्ट्याटस राख्ने गरेका छन् । मेयरको कतिपय विवादास्पद, असान्दर्भिक स्टाटहरुमा हिजोआज नकारात्मक कमेन्टहरू आउन थालेका छन् । कार्यपालिका बैठकमा वडाध्यक्षहरूले मेयरलाई कटाक्ष गर्न फेसबुकको चर्चा गर्दा बैठक लम्बिने र गम्भीर विषय ओझेलमा पर्ने सम्भावना बढेको हो ।

सोमबारको बैठकमा एजेण्डा प्रस्तुत हुन अगावै उपमहानगरपालिका प्रवक्ता वडा १७ का अध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज)ले मेयर हर्क साम्पाङ माथि फेसबुके टिप्पणी सुनाउँदै धार्मिक र साम्प्रदायिक हुलदङ्गा मच्चाएको आरोप लगाए ।

फेसबुकमा मेयरको स्ट्याटस र कमेन्टले कार्यपालिका सदस्यहरूसँग प्रश्न गर्न थालिएको उल्लेख गर्दै उनले ‘तिमीहरूको मेयरको मानसिक अवस्था त ठिकै छ एक पल्ट मानसिक रोग चेकजाँच गर्न सल्लाह सुझाव दिनु’ समेत भन्न थालेको सुनाए ।

वडाध्यक्ष भट्टराईले ‘फेसबुकमा धरानमा प्रहरी नै प्रहरी राखेर विश्वमा अब धरानमा आगो बल्न आँट्यो, जातीय धार्मिक युद्धको शंखघोष हुन आँट्यो भन्ने परिस्थिति निर्माण भइरहेको देखिन्छ’ हाम्रा मेयरको ध्यान र आँखा कहाँ छ भन्दै प्रष्ट गर्न अनुरोध गरे ।

उनले धरान बनाउन मेयरले भुमिका खेल्नु पर्ने बेलामा आफै धार्मिक, साम्प्रदायिक र जातीय  द्वन्द्व फैलाउन लागेको आरोप बताए । उनले भने ‘अरूले तपाईँ भनोस् नभनोस्, आफैँ मपाईँ भन्नु हुन्छ, यस प्रति दुःख व्यक्त गर्न चाहान्छौं ।’

वडाध्यक्ष भट्टराईले बैठकमा धरान धमिलो पानीमा माछा मार्न चाहानेहरुका लागि विश्वास गर्दैन । धराने जनता हिजो पनि मिलेर बसेका थिए, आज पनि मिलेर बस्छन् भन्दै ‘धार्मिक र जातीय हिसाबले सद्भावयुक्त धरान बनाउने कुरामा शरीरमा सास रहुन्जेलसम्म दृढतापूर्वक उभिने र कार्यपालिका पर्खाल भएर उभिने’ प्रतिबद्धता जनाए ।

मेयर साम्पाङले भने ‘धार्मिक साम्प्रदायिक द्वन्द्व मैले फैलाउन खोजेको होइन ।’ उनले फेसबुकको स्ट्याटस आफ्नो पनि व्यक्तिगत जीवन हुने भएकाले व्यक्तिगत अभिव्यक्ति पोस्ट्याएको बताए । उनले थपे ‘चर्च र मन्दिरको विषयमा बोल्दा भवन बनिसके पछि धार्मिक सांस्कृतिक विकास मञ्च आएर भवन भत्काउ भनेपछि इसाई धर्मावलम्बीले देश धर्म निरपेक्ष राष्ट्र भएकोले चर्च बनाऊ पाउने र सञ्चालन गर्ने अनुमति मागे पछि अदालत जानुस् भनेको हु ।’

karyapalika-newsमेयर साम्पाङले पनि फेसबुकका कुरामा बढी चासो राखेर त्यस बारे स्पष्टीकरण दिन थालेपछि एजेन्डा नसकी बैठक स्थगित भएको थियो ।

बैठकमा वडा १५ का अध्यक्ष नरेश इङवारमले भने ‘नगर प्रहरीलाई बाख्रा गोठाला लगाउने काम बन्द गरौँ ।’ मेयरको दुवै हातमा लड्डु छ भन्दैमा नियम कानुन हातमा लिएर नियम उल्लङ्घन भइरहेको उनको भनाई थियो ।

इङवरमले खानेपानी संस्थानलाई खानेपानी बोर्ड बनाए पछि बोर्ड अन्तर्गत कर्मचारी  राखेर उपमहानगरपालिकाको कर्मचारी फिर्ता पठाउनु पर्ने माग गर्दै अब बोर्डको कर्मचारीलाई उपमहानगरपालिकाले तलब खुवाउन नहुने बोर्डमा बोर्डकै कर्मचारी भर्ना गर्न सुझाव दिए ।

वडा-१६ का अध्यक्ष मुरारी भट्टराईले आम्दानीको श्रोत बढाएपछि मात्र कर्मचारी र नगर प्रहरीको सख्या थप गर्नु पर्ने बताउँदै खानेपानी बोर्डको कर्मचारीलाई नगरपालिकाको पैसा खर्च गरेर बाख्रा र जङ्गल रुँगाउन नसकिने बताए ।

१३ वडा अध्यक्ष नेत्र काफ्लेले सघियतामा उपमहानगरपालिकाले डिएसपी स्तरको नगर प्रहरी राख्नु पर्ने बताए । सर्दु जलाधारमा मुहान सुरक्षा दिन १० जना हेरालु राख्नु पर्ने तर नगर प्रहरीलाई नगरको विकासमा लगाएर बजारको समस्या समाधान गर्नुपर्नेमा जो दिए । 

धरान-१३ को कृषि बजार देशमै ९ पटक उत्कृष्ट भएको बजार अहिले बजारमा नगर प्रहरीको नियन्त्रण र नियमन नहुँदा झिँगा धपाउन व्यापारी बाध्य भएको बताए ।

वडा ४ का अध्यक्ष धन बहादुर राईले आफू सी ग्रेड सीको अध्यक्ष बनाएको भनी अन्य वडा अध्यक्षहरू माथि आरोप लगाए । उनको भनाई प्रति आपत्ति जनाउँदै वडा १९ का अध्यक्ष पूर्ण लिम्बु सहित कार्यपालिका सदस्यहरू बिच भनाभन समेत भयो ।

बैठकमा वडाध्यक्षहरूले नगरपालिका टाँट पल्टिन लाग्यो, वडामा बजेट छैन । पोहोरको दायित्व तिरिसकिएको छैन । मेयरले कर्मचारी भर्ती गरेको गरेकै गर्दा विकासको गति अवरुद्ध भएको बताए । उनीहरूले ‘अरूलाई हिजो झोले भन्दै गेटमा उफ्रिनुहुन्थ्यो, आज तपाईँका झोले झ्याम्टाहरू सबैलाई किन कर्मचारी नियुक्त गर्दै हुनुहुन्छ ?’ भनी प्रश्न गरेका थिए ।