धरानः आज बिहानै २ बजेको समयमा धरान-१५ मा भएको मोटरसाइकल दुर्घटनामा धनकुटा शहिदभूमि गाउँपालिका-१ का ४९ वर्षीय हरिभक्त राईको मृत्यु भएको छ ।

धरान-१५ मा प्र १-०२-०४७ प ७७८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटाको राई घाइते भएका थिए । उनलाई उपचारको लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएपछी उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटना सहित दशैंको अन्तिम दिन पूर्णिमाको साँझ शनिवार सम्म सुनसरी र झापामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ  ।

शनिवार साँझ ५ बजे दुहबी-११ मा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ४ प ९१७८ नम्बरको मोटरसाइकल र को २४ प १७५८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा को ४ प ९१७८ नम्बरको मोटरसाइकल चालक दुहबीका ५० वर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

यसअघि शुक्रवार साँझ ७ बजे झापाको गौरीगंज-५ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ६३६४ नम्बरको मोटरसाइकल र को २८ प ३०८६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा को २८ प ३०८६ नम्बरको मोटरसाइकल चालक मोरङको रतुवामाई-७ महदेवाका ६० वर्षीय कैला प्रसाद ताजपुरिया छन् । दुर्घटनामा घाइते उनको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सम्बन्धित प्रहरी कार्यालयहरूले जनाएको छ ।