धरान : नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीले तिहारमा देउसी खेलेर सङ्कलन गरेको रकम मध्ये सडक दुर्घटनामा घाइते चालक सोम राईको उपचारका लागि १५ हजार सहयोग गरेको छ ।

स्पाइनलकर्ड इन्ज्युरी भई उपचाररत बसका चालक सोम राईको औषधिको रकम बुझाउन समस्या भएपछि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले  सहयोग सङ्कलनकालागी अभियान चलाइरहेको छ । सङ्गठनको सोही अभियानमा नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीले नगद सहयोग गरेको हो ।

मंगलबार महासङ्घका अध्यक्ष विकास चाम्लिङले सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईलाई नगद हस्तान्तरण गरेका थिए । चालक सोम राईकी श्रीमती सकुन राईको उपस्थितिमा रकम हस्तान्तरण भएको हो ।

रकम हस्तान्तरण गर्दै पत्रकार चाम्लिङले आफूहरूले प्रत्येक वर्ष देउसी खेलेर सङ्कलन भएको रकमबाट सामाजिक कार्य गर्दै आइरहेकामा मजदुर नेता भीमज्वाला राईले चालकको उपचारमा सहयोग गर्न आग्रह गरेकाले सङ्कलित रकम मध्येबाट १५ हजार सहयोग गरेको बताए ।

सहयोग ग्रहण गर्दै सङ्गठनका अध्यक्ष भीमज्वाला राईले चालकको उपचार बापतको रकम १ लाख ५१ हजार ९ सय बाँकी रहेको बताए । हामीले मजदुर, व्यवसायीबाट ३७ हजार सङ्कलन गरेको र त्यसमा फोटो पत्रकार महासङ्घको सहयोग पछि करिब ५२ हजार रकम जम्मा भएको बताए । यही अभियानबाट थप रकम समेत सङ्कलन गरिने बताउँदै सहयोगका लागि फोटो पत्रकार महासङ्घ सुनसरीलाई धन्यवाद दिए ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेशका सचिव देवेन्द्र कार्की, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरान नगर कमिटी अध्यक्ष कमल भट्टराई, जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवा, फोटो पत्रकार महासङ्घ सुनसरी सचिव शीशीर राईको उपस्थिति रहेको थियो ।

deusi ko paisa sahayog 2