इटहरी : इटहरीको सुष्मा गोदावारी कलेजले सुष्मा साइन्स ओलम्पियाड सुरु गरेको छ । विज्ञान तथा गणित विषयमा रुचि भएका विद्यार्थीलाई प्रतिस्पर्धा गराउन ओलम्पियाड आयोजना गरिएको हो ।

कलेजका प्राचार्य बोधराज नेपालका अनुसार सुनसरी र मोरङका विद्यालयलाई सहभागी गराएर शनिवारबाट प्रतियोगिता सुरु भएको छ । विज्ञान विषयमा विद्यार्थीको रुचि बढाउने हेतुले सुष्मा कलेजले चौथो संस्करणको साइन्स ओलम्पियाड आयोजना गरेको हो ।

प्रतियोगिताबाट विद्यार्थीको क्षमता जाँच्ने र सोही अनुसार उसलाई मार्गदर्शन गरिने उनले बताए । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू बिचमा प्रतिस्पर्धा गराएर क्षमता अभिवृद्धि गराउने प्रयास थालिएको नेपालको भनाइ छ ।

‘विद्यार्थीलाई उपलब्ध गराएको सिलेवसको आधारमा तिन चरणसम्म परीक्षामा सहभागी गराइन्छ । पहिलो चरणमा ६० प्रतिशत विद्यार्थी छनौट हुन्छन् । दोस्रो चरणको परीक्षामा छनौट भएपछि तेस्रो र फाइनल चरण प्रवेश हुन्छ । तेस्रो चरणमा उत्कृष्ट विद्यार्थी घोषणा गरिन्छ,’ उनले भने ।

सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सहभागितामा भव्यताका साथ कार्यक्रम सुरु भएको उनले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सहभागी हुने अवसर पाउने उनको भनाइ छ ।

विज्ञान र प्रविधिको युगमा सो विषय प्रति विद्यार्थीको रुचि बढाउन लागिएको कलेज प्रशासनले बताएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरूलाई क्रमशः १५ हजार, १० हजार, र ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । यस्तै सहभागी मध्ये दश जनाले विद्यार्थीले जनही एक हजारका दरले सान्त्वना पुरस्कार प्राप्त गर्ने भएका छन् ।