विराटनगर : आगलागी, बाढी पहिरो जस्ता प्राकृतिक घट्नामा पीडितलाई प्रदान गरिने सरकारी राहत सहयोग अपर्याप्त हुने भएकाले कोशी प्रदेश सरकारले प्रदेश बासी सबैलाई बिमाको पहुँचमा पुर्याउने योजना अघि बढाएको छ ।

मुख्यमन्त्री केदार कार्कीले सरकारी राहत निर्देशिका अनुसार अधिकतम ५० हजार रुपैयाँ मात्र दिँदै आएकामा त्यसलाई बिमासँग जोडियो भने पीडितलाई थप सहयोग हुने भएकाले प्रदेश बासीलाई बिमाको पहुँचमा पुर्‍याउन लागिएको बताए ।

नेपाल बिमा प्राधिकरणको सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने ‘प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद् लगायतको क्षेत्रमा सहज र सुलभ सेवा प्रदानका लागि बिमाको पहुँचमा पुर्‍याइने छ ।’ उनले बिमा पहुँचमा हुनेको भन्दा पनि नहुनेको घरसम्म पुर्‍याइने बताए ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बाख्रा र बंगुरको बिमामा भुक्तानीका लागि बिमा कम्पनीहरूले निकै झन्झटिलो अवस्था निर्माण गरेको प्राधिकरणको ध्यानाकर्षण गराए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेश कुमार सिंहले सडक लगायतका भौतिक संरचना निर्माणमा हालसम्म बिमामा गरेको लगानी बालुवामा पानी साबित भएको तर्फ प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।

नेपालको वित्तीय क्षेत्र सुधार रणनीतिमा गाउँगाउँ सम्म बिमाको पहुँच पुर्‍याउन तीन तहको सरकार सम्म पुग्ने प्रयास गरिरहेको बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । उनका अनुसार जीवन बिमाको पहुँचमा गत आर्थिक वर्षसम्ममा ४४.३८ प्रतिशत नेपाली मात्रै छन् ।

विगत आर्थिक वर्षभन्दा गत वर्ष २.८७ प्रतिशतले वृद्धि भई बिमा सुल्क सङ्कलन कूल १ खर्ब ८२ अर्ब ९१ करोड पुगेको र कूल ग्राह्स्थ्य उत्पादनमा बिमाको योगदान ३.४० प्रतिशत रहेको छ ।

जीवन बिमाको चुक्ता पुँजी ५२ अर्ब १६ करोड र निर्जीवन बिमाको २६ अर्ब ६ करोड रहेको छ । बिमा क्षेत्रमा प्रत्यक्ष रोजगारी ११ हजार ४९९ जनाले प्राप्त गरेको छ । बिमा सेवा सङ्घ र प्रदेशको साझा अधिकार सूचीमा रहेको र घर बिमा बापत ५ हजार, जीवन बिमा बापत ४० हजार, स्वास्थ्य बिमा बापत ४० हजार रुपैयाँ सम्म कर योग्य आयमा छुटको व्यवस्था छ ।

कृषि तथा पशुपन्छी बिमामा बिमा शुल्कको ८० प्रतिशत सरकारले अनुदान दिइरहेको लाभ सबै किसानले पाउँछ । मुलुकमा तेस्रो पक्ष मोटर बिमा र वैदेशिक रोजगार बिमा अनिवार्य गरिएको सिलवालले जनाकारी गराए ।

नेपालमा जीवन बिमा कम्पनी १४, निर्जीवन बिमा कम्पनी १४, पुनर्बीमा कम्पनी २ र लघुबीमा कम्पनी ७ गरी कूल बिमा कम्पनीको सङ्ख्या ३७ छन् ।