धरान : धनकुटाको हिले प्रहरी चौकीको टोलीले धरान-१४ का २५ वर्षीय सुजन थापा र धरान-६ का २८ वर्षीय प्रज्वल थापालाई धनकुटा-१ बाट लागुऔषध सहित सोमवार दिउँसो पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूको साथबाट प्रतिबन्धित औषधी स्पास्मो २६० चक्की, ट्रामोल २६० चक्की र स्मास्मो प्रोक्स्मीनो ९०, ३४ चक्की बरामद गरिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले फिदिम-५ का ६२ वर्षीय यामबहादुर तुम्बापोलाई सूर्योदय-२ बाट १०० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

साथै लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१३ बाट भारत कोशिकापुरका २६ वर्षीय सहजात अलि र सङ्खुवासभा धर्मदेवी नगरपालिका-१ की २० वर्षीय रबिता अधिकारीलाई ९ ग्राम ९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूको सम्बन्धित इलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।