धरान : नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले विगतका गल्ती बाट सिक्दै अगाडि बढ्ने बताएका छन् । हार्ने डरले गठबन्धन गरेर कांग्रेसले गल्ती गरेको बताउँदै उनले अब त्यस्ता गल्ती नदोहोर्‍याउने बताए ।

सुनसरी क्षेत्र नम्बर १ (१) र (२) को संयुक्त सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले विचार र सिद्धान्तलाई त्यागेर गठबन्धन नगर्ने धारणा राखे ।

"काँग्रेसको तागत भनेकै विचार हो । विचार नै नरहेपछि काँग्रेस कहाँ रह्यो ? उनले भने, लोकतान्त्रिक मूल्य मान्यता नमान्ने मान्छे काँग्रेस हुँदैन । काँग्रेसको आधारभूत चरित्र भनेको लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा लाग्नु नै हो । त्यही चरित्र र विचार बिर्सेर हारिन्छ भन्ने डरले गठबन्धन गरेर गल्ती गर्‍यौँ । डराउने कुरा काँग्रेसको चरित्र हैन । अब काँग्रेस आफ्नो चरित्र अनुसार अगाडि बढ्छ।"

कांग्रेसले नेतृत्व गरेका ३२९ पालिका देखि सङ्घ र प्रदेश राम्रो काम गरे जुनसुकै शक्ति आएपछि डराउनु नपर्ने बताए । यस्तो अवस्थामा पनि कार्यकर्ता किन निराश छन् । पलायनको होड किन देखिन्छ, को कति छिटो देशबाट भाग्ने भनेर होडबाजी चलेको छ । परिवर्तनको लागि आशा चाहिन्छ तर त्यो आशा किन मरेको छ ? उनले प्रश्न गरे ।

अब भोलिको आशा जगाउने काँग्रेस चाहिएको बताउँदै उनले  विद्यालय र विश्वविद्यालय सुधारमा लाग्न आग्रह गरे । स्वास्थ्य बिमाको लागि तयार भएको कानुन अनुसार काम हुँदा पनि जस्तोसुकै रोगमा घरजग्गा बेच्नु नपर्ने प्रष्ट पारे ।