धरान : उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागी १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट विनियोजन गरेको छ ।

लामो विवाद पछि आज आइतबार चलिरहेको १५ औँ नगरसभामा प्रस्तुत बजेट नीति तथा कार्यक्रममा कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ  ।  सभामा उपमेयर अईन्द्र विक्रम बेघाले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

आर्थिक वर्षका ०८१/८२ लागि आन्तरिक राजश्वबाट ४८ करोड ४१ लाख ३४ हजार २८०, सङ्घीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजश्व बाँडफाँडबाट २१ करोड ३४ लाख  प्रदेश राजश्व बाँडफाँडबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

उक्त अनुमान मध्ये २० वटै वडा तर्फ २१ करोड  तथा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी  हुन नसकेको क्रमागत आयोजनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा विषयगत तर्फ सहरी योजना तथा भौतिक पूर्वाधार विकासमा ४५ करोड ८२ लाख २९ हजार, शिक्षा युवा तथा खेलकुदमा ४६ करोड २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

स्वास्थ्यमा ८ करोड ३ लाख ८४ हजार, सामाजिक विकासमा ४ करोड ४१ लाख, आर्थिक विकासमा १ करोड ८४ लाख ९४ हजार, वन वातावरण ऊर्जा तथा  विपद् व्यवस्थापनमा १ करोड ४० लाख, पर्यटनमा ९० लाख ५० हजार विनियोजन गरिएको छ ।

सूचना तथा सञ्चारमा २५ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनमा १० लाख, सार्वजनिक जग्गा संरक्षणमा २० लाख , राजश्व परिचालनमा २३ लाख, वडा पूर्वाधार निर्माण कार्यक्रममा २५ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मेयर भिजन कार्यक्रममा ५ करोड, उपमेयर भिजन कार्यक्रममा ३ करोड रुपैयाँ विनियोजन गर्नुका साथै मेयर कोषमा १ करोड ८० लाख, उपमेयर कोषमा ७५ लाख रुपैयाँ मेयर र उपमेयरको तजबिजमा खर्च गर्ने गरी रकम विनियोजन गरिएको छ ।