धरान : धरान उपमहानगरपालिकाको नवौँ नगरसभामा आज आर्थिक वर्ष २०७८/७९ कोलागी २ अर्ब ३ करोड ६४ लाखको बजेट प्रस्तुत भएको छ।

सुनसरी उद्योग बाणिज्य संघको सभाहलमा भएको नगरसभामा उपमेयर मञ्जु भण्डारी सुबेदीले प्रस्तुत गरेको यो बजेट गत चालु आर्थिक वर्ष २०७७/७८ भन्दा करिब ३१ करोड बढी हो। चालु आर्थिक वर्षको बजेट १ अर्ब ७२ करोड ५४ लाख ४१ हजार ४ सय ४० रुपैयाँ रहेको थियो।

आगामी आर्थिक वर्षको बजेटमा धरानको २० वटा वडाको लागि २८ करोड बजेट विनियोजन गरिएको छ । वडालाई दिइएको यो बजेट चालु आर्थिक वर्षको भन्दा ४ करोड बढी हो । मेयर कोषमा १ करोड २० लाख, मर्मत कोषमा ५० लाख, आकस्मिक कोषमा ३० लाख विनियोजन गरिएको छ भने चालु भैपरीआउने खर्चमा २० लाख र विपद् व्यवस्थापन कोषमा १ करोड बजेट विनियोजन गरिएको छ।

सहरी योजना तथा भौतिक पूर्वाधार विकास तर्फ विगत वर्षहरूदेखि नै क्रमगत रूपमा सञ्चालनमा रहेका योजनाहहरुको भुक्तानी तथा नयाँ कार्यक्रम र नगर गौरवका योजनाहरूकालागि १८ करोड २१ लाख विनियोजन गरिएको छ।

शिक्षा युवा तथा खेलकुद तर्फ शिक्षा युवा तथा खेलकुद तर्फ सङ्घीय सशर्त अनुदान ३५ करोड ७८ लाख, नगरपालिका स्रोत तर्फ २ करोड ५० लाख गरी जम्मा २८ लाख बजेट नियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ घोषित विभिन्न नीति तथा कार्यक्रमलाई संशोधन गर्न संघिय सशर्ततर्फ ३ करोड ९५ लाख र नगरपालिका स्रोत तर्फ रु ८० लाख गरी कुल जम्मा ४ करोड ७५ लाख विनियोजन गरिएको छ।

सामाजिक विकासतर्फ सामाजिक समावेशीकरण विभेद तथा लक्षित कार्यक्रमहरू सञ्चालन गर्न रु १ करोड बजेट विनियोजन गरिएको छ। आर्थिक विकासतर्फ अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि, पशु, सहकारी र उद्योग सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न नगरपालिका स्तरीय रु ९० लाख बजेट विनियोजन गरिएको छ ।

बन वातावरण तथा विपद् व्यवस्थापन तर्फ वातावरण, सरसफाइ, जलवायु अनुकूलनका कार्यहरू विपद् व्यवस्थापनको पूर्व तयारी सम्बन्धी कार्यहरू, जलाधार क्षेत्रको खानेपानी मुहान सरसफाइ र संरक्षण लगायत कामको लागि रु ५० लाख विनियोजन गरिएको छ।

धार्मिक, सांस्कृतिक तथा बहुजातिय विविधतायुक्त धरानलाई पर्यटकीय गन्तब्यस्थलको रूपमा विकास गर्न छनौट भएका कार्यहरूकालागि ३५ लाख बजेट विनियोजन गरिएको छ।

सूचना तथा सञ्चार तर्फ लोकतन्त्रको संवाहकको रूपमा रहेको सूचना तथा सञ्चार क्षेत्रको विकासकालागि  ३० लाख बजेट विनियोजन गरिएको छ । साहित्य कला र संस्कृतितर्फ साहित्य कला र संस्कृतितर्फको कार्यक्रमहरू गर्न धरान प्रज्ञा प्रतिष्ठान मार्फत सञ्चालन गर्न रु २५ लाख बजेट विनियोजन गरिएको छ ।

अव्यवस्थित बसोबास तथा सुकुम्वासी व्यवस्थापन तर्फ यस क्षेत्रको विद्यमान समस्या समाधान गर्दै स्थानीय समिति मार्फत हुने काम र राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न ५० लाख बजेट विनियोजन गरिएको छ । मजदुर कल्याण कार्यक्रम तर्फ विकास निर्माणको प्रमुख स्रोतको रूपमा रहेको श्रम शक्तिको हक हित तथा कल्याणका कार्यक्रमहरू सञ्चालन गर्न जम्मा ५ लाख बजेट विनियोजन गरिएको छ।

कानुन तथा न्याय सम्पादन तर्फ न्याय र समानता कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न संवैधानिक व्यवस्था अनुरूप गठित न्यायिक समितिको विभिन्न कार्यक्रम र न्याय सम्पादन र कानुन शाखाको सुदृढीकरणको लागि २० लाख बजेट विनियोजन गरिएको छ।

सार्वजनिक जग्गा र जलाधार संरक्षणतर्फ नगर क्षेत्रभित्र रहेका विभिन्न सार्वजनिक जग्गा र जलाधार संरक्षण र उपयोग सम्बन्धी कार्यक्रम सञ्चालन गर्न रु।७५ लाख बजेट विनियोजन गरिएको छ। विमानस्थल जग्गा व्यवस्थापन तर्फ विमानस्थल जग्गा व्यवस्थापनको लागि आवश्यक कार्य गर्न जम्मा ५० लाख बजेट विनियोजन गरिएको छ।

राजस्व सुधार तथा संस्थागत क्षमता विकास तर्फ नगरको आन्तरिक स्रोत परिचालन गरी कमशः आत्म निर्भर हुँदै जाने नीति अनुरूप राजस्व सुधार कार्यक्रमको लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ । आवधिक योजना तथा नगर प्रोफाइल र जि एम आई एस अपडेट तर्फ आवधिक योजना तथा नगर प्रोफाइल र जि एम आई एस (GIS) अपडेटका लागि रु ५५ लाख बजेट विनियोजन गरिएको छ।

अन्य कार्यक्रमहरू तर्फ विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू जनसहभागिताबाट सञ्चालन हुने कार्यक्रम नगर विकास कोषबाट लिएको ऋणको साँवा ब्याज भुक्तानी रकम सडक बत्ती लगायतका विभिन्न कार्यक्रमका लागि रु ५२ करोड ५४ लाख बजेट विनियोजन गरिएको छ । प्रमुख कोष, आकस्मिक कोष तथा मर्मत कोष तर्फ यस अन्तरगत प्रमुख १ करोड २० लाख, मर्मत कोष तर्फ रु ४५ लाख र आकस्मिक कोषमा ३० लाख गरी जम्मा रु १ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ।

समपूरक कोष तर्फ सङ्घ प्रदेश तथा विकास साझेदारसँग वित्तीय साझेदारी गरी आकर्षण गर्न र दीर्घकालीन तथा रणनीतिक महत्त्वका योजनाहरू सञ्चालन गर्न कोषको व्यवस्था गरेको छ । जसमा रु ३ करोड बजेट विनियोजन गरिएको छ । विपद् व्यवस्थापन कोषतर्फ १ करोड विनियोजन गरिएको छ ।

Nagarsava-2

कोभिड १९ लगायतका महामारी नियन्त्रण र खोप खरिदको लागि ७ करोड बजेट विनियोजन गरिएको छ । खाजा भत्ता सम्बन्धमा नगर कार्यपालिकामा कार्यरत सबै कर्मचारीलाई दिँदै आएको खाजा खर्चलाई हाजिरीको आधारमा दैनिक १२५ रुपैयाँ बनाइएको छ ।

यस बजेट स्वीकृति या प्रदेश वा स्थानीय सरकारबाट साझेदारी वा अन्य कुनै रूपमा बजेट प्राप्त हुने भए वार्षिक कार्यक्रममा परेका आयोजनामा रकम थप गर्न वा आयोजनाको सूची प्रोजेक्ट बैङ्कमा रहेका आयोजना व कार्यक्रम कार्यान्वयनको व्यवस्था मिलाइने जनाइएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा निर्धारित समय भन्दा तीन घण्टा ढिला गरी नगरसभा सुरु भएको थियो । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा नगरसभा सुरु भएको थियो । नगरसभामा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइरहेको छ ।

निकै सकसका बाबजुद उद्घाटन भएको नगरसभामा नीति तथा कार्यक्रम पेस हुनुको साथै आर्थिक २०७८/७९ को बजेट प्रस्तुत भएर असार १९ गते सम्मका लागि स्थगित भएको छ । असार १९ गते सुनसरी उद्योग वाणिज्य सङ्घकै सभा हलमा पुनः सञ्चालन हुने बताइएको छ ।

आर्थिक वर्ष २०७८ / ७९ को बजेट वक्तव्य :

Bajet-1 Bajet-2 Bajet-3 Bajet-4 Bajet-5 Bajet-6 Bajet-7